इवोलाले पूर्वमा त्रास

तेज बन विश्वासी, ३ भदौ, सुनसरी । अफ्रिकी मुलुक नाइजेरीयाबाट फैलिएको प्राणघातक रोग इवोला भाइरस भारतसम्म आइपुगेको हल्लाले पूर्वाञ्चल क्षेत्रमा निक्कै तहल्का मच्चाएको छ । भारतसम्म आइपुगेको इवोला काठमाण्डौभन्दा पूर्वाञ्चलमा छिटो भित्रिने चिकित्सकहरुले सरकारलाई जानकारी गराएलगत्तै सोमवार झापास्थित पूर्वको मुख्य नाका काँकडभिट्टामा क्वारेन्टाइन हेल्प डेस्क स्थापना गरिएको छ । झापाको काँकडभिट्टामा बिशेषज्ञ चिकित्सकको टोली राखी इवोला भित्रन नदिन उच्च सर्तकता अपनाइएपनि सुनसरी र मोरङका भारतीय नाकाहरुमा भने हालसम्म कुनै सतर्कता अपनाइएको छैन । घरपालुवा पंक्षी तथा चौपायाहरुबाट समेत सर्ने प्राणघातक रोग इवोलाबारे सुनसरी र मोरङका सीमामा हालसम्म सरकारले कुनै सतर्कता अपनाउन नसक्दा यी जिल्लाहरु झनै जोखिममा परेका छन् । सुनसरीको भारतीय नाका हरिपुर, देवानगञ्ज, कप्तानगञ्ज, भारदह लगायतका सीमाबाट खुलेआम भित्रने पंक्षीजन्य र चौपायाहरुलाई नियन्त्रण नगरिँदा जिल्लामा इवोला सम्बन्धी त्रास कायमै रहेको छ । त्यस्तै मोरङको बिराटनगरस्थित भारतीय सीमा जोगवनी नाकाबाट दिनहुँ सयौं बिदेशी पर्यटकहरु बिना स्वास्थ्य परीक्षण नेपाल भित्रने गरेका कारणले समेत इवोलाको संक्रमण सर्ने खतरा बढ्दै गएको पाइएको छ । मोरङ्ग तथा सुनसरीका स्वास्थ्यकर्मीहरुले भारतीय नाकाहरुबाट खुल्ला रुपमा नेपाल भित्रने पक्षीजन्य, चौपाया लगायत बिदेशी पर्यटकहरुका कारणले इवोला रोगको संक्रमण फैलन सक्ने आशंसंका गरेका छन्। सुनसरीका वरिष्ठ चिकित्सक तथा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख महेश खनालका अनुसार सरकारले सुनसरी र मोरङका सीमाहरुबाट पंक्षीजन्य र चौपायाहरु भित्रिन नदिन कडा सुरक्षा व्यवस्था लागु गर्नुपर्ने त्यस्तै खुल्ला सीमाका कारण भित्रिने बिदेशी पर्यटकहरुको लागि तत्काल क्वारेन्टाइन हेल्प डेस्क स्थापना गरी नियमित चेक जाँच गर्नु पर्ने डा. खनाल बताउँछन् । बसाईं सर्न थाले प्राणघातक रोग इवोला भाइरस भारतसम्म आइपुगेका हल्लाले पूर्वका शहर काँकडभिट्टा, भद्रपुर र बिर्तामोडबाट सोमवार र मङ्गलबार बिहानसम्ममा एक दर्जन बढीले बस्दैआएको ठाउँ छाडेर इलामको नामसालिङ, फिक्कल, ताप्लेजुङ्गको फुङलिङ्ग लगायतका पहाडका पूर्ख्यौली घरहरूमा बस्न थालेको स्रोतले बताएको छ । त्यस्तै झापाको बिर्तामोडबाट आफ्नो परिवारसहित इटहरी आइपुगेकी सावित्री भण्डारी इवोला भित्रियो भन्ने गलत प्रचारका कारण घरमा ताल्चा लगाएर इटहरी माइती आएको बताउँछिन् । श्रीमान वैदेशीक रोजगारीका लागि मलेसियामा रहेको र उनैको सल्लाह अनुसार १ महिनाका लागि घरमा ताल्चा लगाएर इटहरीस्थित माइती ज्ञानु भण्डारीकँहा आएर बसेको उनले बताइन् ।

Comments