करेन्ट र चट्याङ लागेर २ को मृत्यु

१४ भदौ, पाँचथर/उदयपुर। विजुलीको करेन्ट लागेर पाँचथरको पौवामा एक युवकको मृत्यु भएको छ । पौवा ५ का सन्तोष राईको घरमा होम डिस जडान गर्ने क्रममा शुक्रबार दिउँसो पौने तीन बजेतिर २२ बर्षिय भुपेन राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा अपरान्ह जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । घटनासम्बन्धमा कानुनी प्रकृया पुरा गरी अनुसन्धान भइरहेको प्रहरी चौकी पौवाले जनाएको छ । उता उदयपुरको कटारी नगरपालिकामा चट्याङले लागेर एक ५ बर्षिय बालकको मृत्यु भएको छ । कटारी १० का अमर बहादुर गुरुङको छोरा धनराज गुरुङ घरमै खेलिरहेको अवस्थामा शुक्रबार साँझ ५ बजेतिर चट्याङले लागेर घाइते भएका थिए। उनको उपचारार्थ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Comments