बिषालु सर्पको डसाईमा बृद्धि

दमक । बर्षासँगै गर्मी बढेपछि पूर्वमा बिषालु सर्पको प्रकोप बढेको छ । पूर्वका झापा, मोरङलगायतका जिल्लामा बिषालु सर्पको डसाईबाट बिरामी बढेका हुन् । नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार सेवा केन्द्रका अनुसार गएको तीन महिनाको अवधिमा २५ जना सर्पदंशका विरामीले केन्द्रमा उपचार गराएका छन् । केन्द्रका सर्पदंश प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार जेठ, असार र साउनमा क्रमसः ५, ८ र १२ जना बिषालु सर्पको डसाईका बिरामी उपचार गरी घर फर्किएका छन् । बिषालु सर्पमा पनि धेरैजसो गोमनले डसेका बिरामी आउने गरेको सर्पदंश प्राविधिकहरु बताउँछन्। जेठदेखि साउनसम्म बिषालु सर्पले टोकेका ४ जना बिरामीको श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास गराएर समेत उपचार गरिएको केन्द्रले जनाएको छ । तराईमा पाइने बिषालु सर्प गोमन, करेत, हरेउ र गुर्बे हुन् । ३ महिनाको अवधिमा सो केन्द्रमा ५ सय २२ जना सर्पदंशका बिरामीहरु उपचारका लागि आएको जनाइएको छ ।

Comments