नगरपालिका विवादको सहमति सार्वजनिक

नरेन्द्र बस्नेत मोरङ, ६ भदौ, मोरङ। मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय व्यवस्थापनको विवाद समाधानका लागि गरिएको सहमतिका बारेमा नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । लामो समयदेखि पथरी या शनिश्चरेमा कार्यालय राख्ने भन्ने विवाद भएको र हिजो रातिसम्म भएको छलफलपछि सहमतिमा पुगेको कार्यकारी अधिकृत गणेशराज कार्कीले जनाए । छलफलबाट तत्काललाई अस्थाई रुपमा पथरीबाटै कार्यालय सञ्चालन गर्ने तथा मन्त्रालय र अदालतको निर्णयअनुसार शनिश्चरेको महेन्द्रराजमार्ग नजिकको क्षेत्रमा स्थायी कार्यालय व्यवस्थापनका लागि जग्गाका लागि पहल गर्न समिति निर्माण गरिने सहमति भएको कुरा जानकारी गराइएको छ । साविक पथरी र शनिश्चरेतर्फका दलका अगुवाहरुबाट भएको ५ वुँदे सो सहमतिमा जग्गा व्यवस्थापनका लागि शनिश्चरेतर्फको संयोजक रहने, शनिश्चरेका तर्फबाट दायर भएको मुद्दा फिर्ता लिने र नगरपालिकाको समृद्धिका लागि सहकार्य बलियो बनाउने समेत निर्णय भएको थियो । पत्रकार सम्मेलनमा दुवैतर्फका १ सयको संख्यामा अगुवाहरु सहभागि भई भावनात्मकरुपमै एकता भएको कुरा प्रस्तुत गरिरहेका थिए । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विवाह भएको दिनका रुपमा पथरी र शनिश्चरे दुवै पक्षबीच पुनर्मिलन भएको भन्दै शान्ति र दिगो विकासका लागि सधैं यसैगरी जुट्न आव्हान समेत गरे । सो अवसरमा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले समेत सहमतिको कार्यलाई प्रसंसा गरेका थिए ।

Comments