तीजको अवसरमा १० जना आमा सम्मानीत

१० भदौ, बिर्तामोड। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिर्तामोड नगरपालिका ७ स्थित कञ्चनजंघा टोलका १० जना जेष्ठ आमाहरुलाई मंगलबार सम्मान गरिएको छ । जय माँ किर्तन मण्डली र विष्णुलक्ष्मी महिला कृषक समूहले मंगलबार आयोजना गरेको तीज मिलन कार्यक्रममा समुदायका १० जना जेष्ठ आमाहरुलाई सम्मान गरिएको हो । वृद्ध आमाहरुलाई दोसल्ला ओढाएर र फलफूल वितरण गरी सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा कौशिला पोखरेल, नरमाया नेपाल, रुपमाया नेपाल, योगमाया सुवेदी, हिमा तिम्सिना, नरमाया ओली, नर्बदा मिश्र, चन्द्रमाया न्यौपाने, तुलसा तिम्सिना र चित्रकला पौडेल रहेका छन् । आत्मनिर्भर महिला कृषि सहकारीकी अध्यक्ष पवित्रा महताराको प्रमुख आतिथ्य तथा कृषक समुहकी अध्यक्ष मेनुका तिम्सिनाको सभाअध्यक्षतामा कार्यक्रम गरिएको हो । नेपाली नारीहरुको महान पर्व तीजले महिलाले भोग्दै आएका पीरव्यथा, दुःखकष्टलाई हटाउने भएकोले समाजका असक्त र जेष्ठ आमाहरुलाई सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा कञ्चनजंघा टोलका महिलाहरुले आधुनिक तरिकाले तीज मनाउने क्रमले विकृति बढेको भन्दै मौलिक तरिकाले नाचगान गर्दै तीज मिलन कार्यक्रम आयोजना गरिएको महिला कृषक समुहकी सचिव रीता तिम्सिनाले जानकारी दिइन् । कार्यक्रममा सञ्चारकर्मी भीमा शिवाकोटी, कञ्चनजंघा स्कूलका प्रिन्सिपल गुरुभक्त न्यौपाने, परोपकार समाजका हरि तिम्सिना, होमनाथ ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comments