४ सय ५३ असईका लागि पूर्वमा मात्रै अढाई हजारको दरखास्त

५ भदौ, बिराटनगर। नेपाल प्रहरीमा रिक्त रहेको ४ सय ५३ प्रहरी सहायक निरीक्षक (प्रशासन) पदको लागि पूर्वाञ्चल विकास क्षेत्रमा दुई हजार पाँच सय साठी जनाले दरखास्त फारम बुझाएका छन् । सो पदका लागि १९४ महिला र २३६६ पुरुषले आवेदन दिएका हुन् । पूर्वाञ्चल विकास क्षेत्रका लागि फारम संकलन केन्द्र तोकिएका बिभिन्न चार स्थानबाट उक्त संख्यामा दरखास्त फारम संकलन भएको हो । क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, अंचल प्रहरी कार्यालय मेची, कोशी र सगरमाथामा आवेदक स्वयं उपस्थित भई दरखास्त बुझाएका हुन् । सबैभन्दा बढी क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा ८९ महिला र १३५२ पुरुषले आवेदन बुझाएका छन् भने सबैभन्दा कम अंचल प्रहरी कार्यालय कोशीमा २९९ वटा दरखास्त फारम संकलन भएको छ। त्यस्तै मेची अंचलमा ४४८ जना र सगरमाथा अंचलमा ३३२ जनाले आवेदन बुझाएका छन् । रिक्त रहेको प्रहरी सहायक निरीक्षक पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पुर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालय, मानवस्रोत बिकास बिभाग, काठमाण्डौले २०७१ साल साउन ४ गते सार्वजनिक रुपमा बिज्ञापन प्रकाशित गरी दरखास्त आव्हान गरेको थियो । प्रहरी प्रधान कार्यालयबाट प्रकाशित बिज्ञापन अनुसार आवेदन दर्ताका लागि काठमाण्डौ उपत्यका, पाँच बिकास क्षेत्र लगायत मुलुकभरी बिभिन्न २० वटा प्रहरी कार्यालयहरुमा आवेदन दर्ता गर्ने व्यवस्था मिलाइएको थियो । सोहीअनुरुप यस क्षेत्रको चारवटा प्रहरी कार्यालयहरुमा गत साउन ५ गतेदेखि भदौ ४ गते (एक महिना) सम्म आवेदन दर्ता गरिएको हो । परीक्षा तालिका अनुसार पूर्व क्षेत्रमा दरखास्त बुझाएका आवेदकहरुको यही भदौ १५ गतेबाट क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा शारिरीक तन्दुरुस्ती परीक्षा संचालन गरिने कार्यक्रम रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। परीक्षा तालिका पूर्वक्षेत्रीय प्रहरी कार्यालयको वेवसाइट erpo.nepalpolice.gov.np मा समेत राखिने छ ।

Comments