खोलाजन्य निकासीमा प्रहरीको अवरोध

३ भदौ, दमक। खोलाबाट गिटीबालुवा निकाल्न पाउनुपर्ने माग गर्दै मावा खोलामा प्रवेश गर्न खोज्ने ट्याक्टरलाई आज पनि विहानैदेखि प्रहरीले रोकेको छ । दमक -५ र ७ को सिमानामा पर्ने दुम्सेस्थित मावा खोला नाकामा बसेर प्रहरीले विहानैदेखि ट्याक्टर प्रवेशमा रोक लगाएको हो । गएराति भने प्रहरीले निकासीमा अवरोध गरेपनि राति प्रहरीलाई छल्दै सयौं ट्याक्टरहरुले बालुवा निकासी गरेका थिए । आन्दोलनअन्तरगत आज पनि खोलाबाट बालुवा उठाइने झापा कनकाई माई ट्याक्टर संघका सचिब नबिन बरालले जानकारी दिए । सरकारको निर्णयअनुसार खोलाबाट उत्खनन् गरिने कार्य पूर्ण रुपमा रोक लगाइने प्रहरीले जनाएको छ ।नियन्त्रणका लागि मावा खोलामा इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर चिरन्जिवी दाहाल नेतृत्वको प्रहरी खटिएको छ । रातिदेखि नै ती क्षेत्रमा प्रहरी खटिएको जनाइएको छ । यसअघि हिजो पनि खोलाबाट बालुवा भरेर निस्किएका ट्याक्टरलाई प्रहरीले रोकेको थियो । सम्पूर्ण मजदुर एवम् ट्याक्टर व्यवासायी संघर्ष समन्वय समिति, झापा कन्काई माई ट्याक्टर संघ, स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ लगायतले आफ्नो आन्दोलन अन्तरगत नै खोलाबाट निर्माण सामग्री निकालेर सरकारको निर्णउ अवज्ञा गर्ने भन्दै हिजोदेखि थप आन्दोलित छन् । यसैविच खोलाबाट जबरजस्ती गीटी बालुवा निकालेको आरोपमा प्रहरीले गएराति ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । हिजो दिउँसैदेखि करिब १ सय ५० वटा ट्याक्टर रतुवा र मावा खोलामा लगेर मजदुरहरुले जबरजस्ती बालुवा गिटी उठाउन खोजेका थिए । दिनभरीको तनावपछि अधिकांसलाई रित्तै फर्काएपनि पाँचवटा ट्याक्टरका मजदुरहरुले जबरजस्ती गरेकोले राति नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपि रबि कुमार पौडेलले जानकारी दिए। पौडेलका अनुसार दमक- ७ महेश चोकबाट नियन्त्रणमा लिएका ट्याक्टर र पाँचजना चालकलाई प्रहरी चौकी बाघखोरमा राखिएको छ । सरकारले साउन १ गतेदेखि तीन महिनाका लागि गिटी बालुवा निकासीमा रोक लगाएपछि निर्माण मजदुर र ट्याक्टर सञ्चालकहरु आन्दोलनमा छन् ।

Comments