तीजका कार्यक्रम शुरू, तडकभडकरहित तीज मनाउन आग्रह

५ भदौ, दमक/सुरुङ्गा/विर्तमोड । झापाका विभिन्न संघसंस्थाले तीजका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् । यसै अवसरमा राप्रपा नेपाल कनकाई नगर कमिटीको आयोजनामा कनकाई नगरपालिका-५ मा आयोजित तीज विशेष कार्यक्रम सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा गौरा भट्टराईको टोली, कञ्चन सुबेदीको टोली, भान्सेबाबा कीर्तन मण्डली, कनकाई कीर्तन मण्डली चप्रामारी, कनकाई कीर्तन मण्डली लालपानी लगायतले भाग लिएका थिए । कनकाई नगर अध्यक्ष खेमराज कार्कीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामबहादुर न्यौपाने, राधा कार्की, पदमकुमार निरौला, दुर्गादेवी बुढाथोकी, रघुनाथ शिवाकोटी, जितेन्द्र कार्की, चित्रा श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । तारा सुबेदीको स्वागत मन्तव्य रहेको कार्यक्रम नगर सचिव प्रकाश थापाले सञ्चालन गरेका थिए । त्यसै गरी नवजागरण समृद्धि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड कनकाई-३ को आयोजनामा दुर्गाचोकमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । ३ सय बढीको सहभागिता रहेको उक्त कार्यक्रम तेजबहादुर आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । संस्कृतिलाई जोगाउने र महिलाबीचमा सहकार्य र एकता वृद्धि गर्ने उद्देश्यका साथ सम्पन्न कार्यक्रममा गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । संस्थाका अध्यक्ष जानुका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी बहुउद्देश्यीय सामाजिक संस्थाका अध्यक्ष गंगाराम चिमरियाले शुभकामना मन्तव्य राखेका थिए । चित्रा बस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संगीता उप्रेतीले गरेकी थिइन् । त्यस्तै लखनपुर ४ मदनपुर (दहीचोक) मा रहेको श्री सिद्धिबिनायक किर्तनमण्डलीले तडकभडक रहित तीज बिशेष कार्यक्रमको आयोजना गरेर गाउँले सबैलाई एकैठाँउमा भेला गराएर दर ख्वाएको छ । महिलाहरुलाई मात्र नभएर पुरुषहरुलाई समेत कार्यक्रममा सहभागि गराएर भड्किलो तीज नमाउने प्रतिबद्धता जाहेर गर्न लगाइएको किर्तन मण्डलीले जनाएको छ । समाजमा बिभिन्न बिकृती आएको बताउँदै सामुहिक रुपमा त्यस्तो बिकृती रोक्न चेतना जागृत गर्ने उद्देश्यले सामुहिक रुपमा दर ख्वाएर नाचगान गर्दै यो पर्व मनाउन प्रेरित गरिएको किर्तन मण्डलीका ख्याम आचार्यले बताए । यसरी सामुहिक रुपमा पहिलोपटक तीज कार्यक्रम मनाइएको समेत आचार्यले जानकारी दिए । छ महिना अघिमात्र स्थपना भएको किर्तन मण्डलीले सामुहिक रुपमा संस्कृति र संस्कार जगेर्नाका लागि अभियान चलाउन शुरु गरेको किर्तन मण्डलीका राजु बरालले बताएका छन् । श्री कृष्णअष्टमी समेत यसरी नै सामुहिक रुपमा मनाइएको र हिन्दु संस्कार तथा संस्कृति जोगाउन आफूहरुले सामुहिक प्रयत्न शुरु गरेको बरालको भनाई छ । उता शनिश्चरे-७ स्थित कालिकापीठले त्रीदिवसीय कार्यक्रमसहित तीज महोत्सवको आयोजना गर्ने भएको छ । कालिका संस्कृत विद्यापीठको संयोजन र कालिका मातृ समूहको आयोजनामा हुने तीज महोत्सवको उद्घाटन आगामी भदौ ७ गते बृहद कार्यक्रमका बीच गरिनेछ । विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित प्रारम्भ गरिने उद्घाटन समारोहमा पीठका आजीवन सदस्यका परिवारतर्फका जेष्ठ दुई आमाहरुलाई सम्मान गरिने बताइएको छ । सम्मानीत प्रतीभा चयनका लागि पीठ ब्यवस्थापन समितिका उपाध्यक्ष डिल्ली दाहालको संयोजकत्वमा पीठका सचिव लक्ष्मी मिश्र र प्राचार्य रघुनाथ रिजाल सदस्य रहेको छनौट समिति गठन गरिएको छ । यसअघि कालिका पीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले तीज महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । तीज महोत्सव अन्तरगत तीजको हरितालिका ब्रतका दिन सामुहिक पूजा, भजन-कीर्तन तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने कालिका मातृ समूहका अध्यक्ष तारा गिरीले जानकारी दिइन् । यसैगरी ऋषि पञ्चमीको अवसर पारेर पञ्चमी स्नान तथा पूजा-आरधना गरी त्रीदिवसीय तीज महोत्सव समापन गरिने पीठका सचिव मिश्रले जानकारी दिए।

Comments