खड्गजीको कत्रो मन, ६ कठ्ठा जग्गा सुकुम्वासीलाई दान

तेज बन विश्वासी १५ भदौ, सुनसरी । आफ्नो जग्गा ओगटेर बस्ने मान्छेहरुलाई जसले पनि जसरी पनि खेदाउन खोज्छ । तर हाम्रो समाजमा यस्ता पनि एक व्यक्ति भेटिएका छन्, जसले जग्गा ओगट्नेलाई खेदाउनुको सट्टा उल्टै जग्गा नै पास गरिदिएका छन्, त्यो पनि ओगटेको भन्दा बढि । यो प्रसंग हो सुनसरीको भरौलको । भरौल ३ का ४७ वर्षीय खड्ग बहादुर पौडेलले आफ्नो नाममा रहेको ६ कठ्ठा जग्गा २२ जना सुकुम्बासीहरुलाई लालपूर्जासहित आइतवार बितरण गरेका छन् । केही वर्षअघि पौडेलको जग्गामा अवैध रुपले बसोवास गर्दै आइरहेका सुनसरी भरौल ३ मुसहर टोलका सुकुम्वासीहरु कुन बेला पौडेलको मनभित्र भुत पस्ने हो अनि प्रहरी लगाएर खेदाउने हो भन्ने पिरले त्रसित बनिरहन्थे । तर आइतबार लालपूर्जासहित जग्गा नै दानमा पाएपछि त्यहाँका सुकुम्बासीहरुले समाजसेवी पौडेलको जय जयकार गर्न समेतपछि परेनन् । केही वर्षदेखि पौडेलको ४ कठ्ठा जग्गामा सुकुम्वासीहरुले टहरा निर्माण गरी बसोवास थालेका थिए त कसैले केही उब्जनी समेत गर्दै आएका थिए । 'यिनीहरुलाई खेद्नुभन्दा त्यसैमा २ कठ्ठा जग्गा थपेर ६ कठ्ठा बनाएर बितरण गर्नु मनले ठिक भन्यो मैले त्यसै गरें', समाजसेवी पौडेलले बताए । झन्डै २ करोड रूपैयाँ बरावरको जग्गा २२ सुकुम्वासी परिवारलाई दिन पाउँदा देशका लागि केही नगरे पनि गाउँका लागि भने केही गरें कि भन्ने आभाष भएको समाजसेवी पौडेल बताउँछन् । चार कठ्ठा जग्गा ओगटेर बसेका सुकुम्वासीहरुले आइतवार ६ कठ्ठा जग्गा पाएपछि खुशीले भोजकै आयोजना गरेका छन्। यता सित्तैंमा मुल्यवान जग्गा पाएपछि मालिकको गुन जिन्दगीभरी कहिल्यै नविर्सने र चाहेमा जीवनभर उनैको सेवा गर्नसमेत पछि नपर्ने मुसहर वस्तीका सुकुम्वासीहरुका नेता ओस्ना सरदार बताउँछन् ।

Comments