काठमाण्डौपछि धेरै हत्या हुने जिल्ला सुनसरी

तेज बन विश्वासी, सुनसरी। नेपालमा सवैभन्दा धेरै हत्या हुने जिल्ला काठमाण्डौपछि पूर्वको सुनसरी रहेको प्रहरीको तथ्यांकमा देखिएको छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले हालै सार्वजनिक गरेको तथ्याङ्कले काठमाण्डौपछि धेरै हत्या हुने जिल्ला सुनसरीलाई देखाएको हो । गत आर्थिक वर्ष २०७०/0७१ मा सुनसरीमा २९ जनाको हत्या भएको छ, जवकी सो अवधीमा काठमाण्डौमा ४५ जनाको हत्या भएको थियो । त्यस्तै प्रहरीको प्रतिवेदनमा पूर्वाञ्चलकै असुरक्षित जिल्लाको रुपमा मोरङ देखिएको छ । मोरङमा गएको वर्ष १ हजार २ सय ४० अपराधका घटनाहरु भएका थिए, जसमा २२ जनाको हत्या र ३२ जनाको हत्या प्रयास भएको तथ्याङ्कले देखाएको छ । सुनसरीमा भने गएको वर्ष १ हजार १ सय ६ वटा अपराधका घटनाहरु भएका थिए जसमा २९ जनाको हत्या भएको छ भने ३३ जनाको हत्या प्रयास गरिएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने पूर्वको अशुरक्षित जिल्ला मानिएको मोरङमा भन्दा सुनसरीमा धेरै हत्याका घटनाहरु भएको देखिन्छ । तर मोरङमा ज्यान सम्बन्धीका मुद्दा धेरै नै रहेको पाइन्छ । त्यस्तै पूर्वमा तेश्रो असुरक्षित जिल्लाको रुपमा झापा रहेको सो तथ्याङ्कमा उल्लेख छ। झापा मानव हत्याको बिषयमा भने पाँचौ स्थानमा परेको छ । झापा जिल्लामा गएको वर्ष २१ हत्या सहित १ हजार ७६ अपराधका घटनाहरु भएको तथ्याङ्कले देखाएको छ । पूर्वका सुनसरी, मोरङ, झापापछि इलाम, ताप्लेजुङ, सिरहा, सप्तरी र उदयपुरलाई समेत असुरक्षित जिल्लाको रुपमा लिइएको छ । यसरी अपराध बढ्दै जानुमा खुल्ला सिमामा हुने अबैध कामहरु, लागु औषध प्रयोगकर्ताहरु बढ्नु जस्ता रहेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका डिआइजी नवराज सिलवालले बताए। डिआइजी सिलवालले गएको वर्ष नेपालभर जम्मा १ हजार ३ सय ३२ जनाको हत्या भएको र यसलाई दिनमा बिभाजन गर्दा नेपालमा दैनिक ४ जना सम्मको हत्या हुने गरेको उल्लेख गरे ।

Comments