ट्याक्टर व्यवसायीहरुको मागबारे पहल गरिने - थापा

३१ साउन, दमक । नेपाली कांग्रेसका युवा नेता तथा सभासद् गगन थापाले ट्याक्टर व्यवसायीहरुको मागलाई सम्बोधन गराउन पहल गर्ने बताएका छन् । आज विर्तामोडमा सम्पूर्ण मजदुर, ट्याक्टर व्यवसायी समन्वय समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै सभासद् थापाले ट्याक्टर व्यवसायीहरुको जारी आन्दोलनलाई चाँडै हल गर्न लाग्ने विश्वास दिलाए। उनले सरकार चुरे संरक्षण गर्न लागेको स्पष्ट पार्दै त्यसका लागि सरोकारवालाहरुसँग छलफल चलाउनुपर्ने बताए। उनले भने, 'चुरे क्षेत्रमा भएको वन बिनासले समस्या जन्माउँदै लगेको छ, यस्तो कार्य नियन्त्रण गरिनु पर्छ ।' सभासद् थापाले ट्याक्टर व्यवसायीहरुले उठाएका माग ब्यवस्थापिका संसद तथा सरकारका निकायहरुसँगसमेत छलफल गरेर निकासको लागि पहल थाल्ने बताए । ज्ञापन पत्र बुझाउन मेची-कोशीका ट्याक्टर व्यवसायीहरुद्वारा गठित संघर्ष समितिका संयोजक चन्द्र गजमेर, सचिव शान्तिराम गिरी, जिल्ला संघर्ष समितिका संयोजक विदुर भट्टराई, झापा कन्काई माई ट्याक्टर व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद खनाल, सचिव नविन बराल, ट्याक्टर व्यवसायीहरु भागवत प्रसाद दुलाल, रामचन्द्र थापा मगर लगायतका रहेका थिए । यसैबीच संघर्ष समितिले सरकारले नदीजन्य निकासीमा हालै रोक लगाएको अव्यावहारिक निर्णय खारेज नभए भदौ २ गतेदेखि यहाँका व्यवसायीहरुले सो निर्णयको अवज्ञा गर्ने चेतावनी दिएका छन् । खोलामा गएर ट्याक्टरहरुले गिटी, वालुवा, ढुङ्गा उठाउने निर्णय भएको गठित संघर्ष समितिका संयोजक गजमेरले बताए । मेची र कोशीमा मात्र ३५ हजार ट्याक्टर व्यवसायीहरु रहेका छन् ।

Comments