रमा वनमा बृक्षारोपण

९ भदौ, दमक। झापाको दमक- १९ स्थित रमा सामुदायीक वनक्षेत्रमा आज बिभिन्न जातका विरुवाहरु रोपिएको छ । दमक नगरपालिकाको आर्थिक सहयोगमा खयर, मसला लगायत विभिन्न जातका विरुवाहरु रोपिएको हो । दमक नगरपालिकाका कार्यकारी प्रमुख नुरहरी खतिवडाले विरुवा रोपेर कार्यक्रमको उद्धघाटन गरेका थिए । प्रत्येक वर्ष रतुवा र मावा खोलाको समस्या भोग्दै आएको दमक नगरपालिकालाई स्वच्छ सफा हराभरा र सुरक्षित बनाउने उद्देश्यले नदी किनारमा बृक्षारोपण गरिएको रमा सामुदायिक सेवा तथा प्रकोप व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपानेले बताए। सामुदायिक बन क्षेत्रमा बायोइन्जिनियरीङ पद्धतिवाट नदी नियन्त्रण गर्दै जंगलको विकास गर्न सो अभियान सञ्चालन गरिएको बताइएको छ । बृक्षारोपण कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुदेव कोइराला, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव उपरीक्षक रवि कुमार पौडेलले लगायतको सहभागीता रहेको थियो । अभियानलाई आउँदा दिनहरुमा समेत अगाडि बढाइने वनका संस्थापक अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए। दुई दशक अघिवाट वृक्षारोपण शुरु गरिएको सो स्थानमा हाल करिब २ सय विगाह क्षेत्रफलको बनक्षेत्रमा सिसौ, खयर, वाँस, सिमल, मसला, टिक, सिरिस लगायतका प्रजातिका विरुवाहरु छन् ।

Comments