रासायनिक मलको अभाव हुँदा पूर्वका किसान चिन्तित

१४ भदौ, दमक। पूर्वमा रासायनिक मलको अभाव भएको छ । रासायनिक मल नपाएका कारण पूर्वमा धानको उत्पादन नै घट्ने अनुमान कृषकहरुको छ । कृषकहरु अहिले मल नपाउँदा धान उत्पादन नहुनेमा चिन्तित छन् । मल ढुवानी तथा विक्री गर्ने सम्बद्ध कार्यालयले मल आपूर्ति गर्न नसक्दा केहि दिनयता झापासहित पूर्वका बजारमा रासायानिक मल हाहाकार बनेको हो । तर सम्बन्धीत सरोकारवालाहरुले भने मल ढुवानी गर्ने प्रमुख माध्यम सडक भत्किएकाले ढुवानी प्रभावित बन्न पुगेको बताउँदै आएका आएका छन् । 'भदौ आधा वितिसक्न लागेको छ र अगुवा रोपाई गरेको धान खेतमा पोटाउन थालेपनि मल नपाउँदा धान विग्रिने सम्भावना बढेको छ', झापा, महारानीझोडाका किसान इन्द्र प्रसाद खरेल आफ्नो धान खेत देखाउँदै दुखेसो पोख्छन् । खरेलले रासायनिक मलको खोजीमा विभिन्न सहकारी संस्था धाएको दुई साता वितिसकेपनि मल नपाएको दुखेसो गर्छन् । उनले भने, 'मल समयमै नपाएपछि धान नफल्ने अवस्था बन्यो ।' धान पसाउनु अगाडी नै हाल्नु पर्ने रासायनिक मल नपाएपछि उत्पादन घट्ने खरेलको भनाई छ । जिल्ला कृषि सामाग्री संस्था लिमिटेड झापा शाखाका प्रमुख नरेश सापकोटाले संस्थामा अहिले पर्याप्त रासायनिक मल नभएको जानकारी दिए। झापा मात्र हैन पूर्वमा अवस्थित संस्थाका आठवटै केन्द्रमा अहिले मल पर्याप्त नभएको उनको भनाई छ । उनले हालै देशका विभिन्न भागहरुमा आएको वाढी पहिरोको प्रभावले ढुवानी नहुँदा समस्या आएको बताए। पूर्वका लागि आउने मल सडक अवरुद्ध भएपछि विरगञ्जमा नै थन्किएको सापकोटाले जानकारी दिए। साल्ट ट्रेडिङले पूर्वका जिल्लामा पठाएको मल सडक खुल्नासाथ मल नियमित आउने र किसानलाई उपलव्ध गराउने उनको भनाई छ । संस्था लिमिटेड झापा शाखाका प्रमुख सापकोटाले झण्डै सात हजार मेट्रिक टन रासायनिक मल झापा जिल्लामा आवश्यक पर्ने गरेको जानकारी दिए। राजमार्ग अवरुद्ध भएका कारण भारतको जोगवनी विराटनगर हुँदै केही मात्रामा भने ल्याइएको छ । तर यो पर्याप्त भने नभएको सापकोटा बताउँछन् । झापा खासगरी भारतसँग सीमा जोडिएको जिल्ला भएका कारण सिमाक्षेत्र नजिकका किसानले केही मात्रामा ल्याएर लगाएका छन् भने सीमा क्षेत्रदेखि टाढाका किसानहको अधिकांश खेतमा रासायनिक मल पुगेको छैन । सवै किसानलाई मल पर्याप्त नपुग्ने भएपछि संस्थामा रहेको केही मलसमेत सहकारीले लगेका छैनन् । वितरणमा समस्या हुने भन्दै सहकारीले मल लान नमानेका हुन् । संस्थाले प्रत्येक सहकारीलाई ५० वोराका दरले मात्र मल दिएको छ । संस्थामा हाल ७५ टन मात्र मल रहेको छ । जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघराज तिम्सिनाका अनुसार यो वर्ष ढिला गरी वर्षा भएका कारण जिल्लामा कुल धानखेतीमध्ये ९० प्रतिशतमात्र रोपाई भएको छ । त्यसमध्ये पनि रासायनिक मल समयमा नहुँदा उत्पादन घट्ने कुरा निश्चितप्रायः छ । उनका अनुसार सामान्यतः भदौको पहिलो सातादेखि दोश्रो साताभित्रमा धानमा रासायनिक मल हालिसक्नु पर्ने हुन्छ । मल समयमा नपुग्दा धानमा पुरा दाना नलाग्ने, नल राम्रो नआउने, भुस वढी हुने समस्या देखा पर्ने प्रमुख तिम्सिनाले जानकारी दिए । झापामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । सो मध्ये ३७ हजार ४ सय ४७ हेक्टर पूर्ण सिञ्चित र १२ हजार ८४ हेक्टर अर्ध सिञ्चित क्षेत्र रहेको छ । सोमध्ये अधिकांश क्षेत्रमा रसायनिक मलको प्रयोग हुने गरेको छ । जिल्लामा करिव १ लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

Comments