राष्ट्रिय एकताको सुत्र सहकारी - बडाल

१२ भदौ, दमक। राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले मुलुकमा रहेको अनेकता बीच एकता बनाउन आवश्यक रहेको बताएका छन् । विहीवार दमकमा मेची सहकारी संस्थाको १८ बार्षिकोत्सव तथा २० औं साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष बडालले बिभिन्न क्षेत्रमा रहेका जातजातिहरुलाई एकताको सुत्रमा बाध्ने माध्यम सहकारी भएको बताए । उनले सबै जातजाति सहभागी भए मात्र सहकारी दर्शनको मर्म पूरा हुनेमा जोड दिए । सभासद्समेत रहेका बडालले आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारी अभियान उपयुक्त भएको चर्चा गरेका थिए । कार्यक्रममा सहकारी अभियान्ता तथा संस्थाका पूर्व अध्यक्ष गणेश प्रसाद वस्नेत स्मृतिमा स्थापित सहकारी अभियन्ता पुरस्कारवाट केन्द्रीय बचत तथा ऋण सहकारीका सञ्चालक केशव पोख्रेल र पत्रकारितातर्फ कान्तिपुर दैनिकका संवाददाता चेतन अधिकारीलाई पुरस्कृत गरिएको थियो । अभियन्ता पुरस्कारको राशी २० हजार नगद र प्रमाणपत्र रहेको छ भने पत्रकारिता तर्फको पुरस्कारको राशी नगद ५ हजार र प्रमाणपत्र रहेको छ । पत्रकार अधिकारी सप्तरङ्गी एफएमका समाचार सम्पादक समेत हुन् ।
सोही अवसरमा संस्थाका दुई पूर्व सञ्चालक र एकजना व्यवस्थापकलाई समेत सम्मान गरिएको थियो । संस्थाको स्थापनामा महत्वपूर्ण योगदान पुर्‍यावापत तत्कालीन व्यवस्थापक देवी ओझा र पूर्व सञ्चालकद्वय भवानीप्रसाद दाहाल र टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । त्यस्तै उद्घाटन सत्रमा संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको परिवारबाट गएको एसएलसीमा उत्कृष्ठ हुने सामुदायिक विद्यालय तर्फका अशिष कुमार र प्रतिमा खड्का तथा संस्थागततर्फ प्रकृति भट्टराई र रविन अधिकारीलाई जनही नगद ७ हजार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थामा बचत तथा ऋण कारोवारमा उत्कृष्ठ हुने एक दर्जन बढी शेयर सदस्य तथा उत्कृष्ठ बाल बचतकर्ताहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रोमनाथ ओलीले बार्षिक प्रतिवेदन तथा व्यवस्थापक खोमप्रसाद बगालेले संस्थाको आर्थिक विबरण प्रस्तुत गरेका थिए ।

Comments