रतुवा खोलाको कटानले सुकुम्बासी बस्ती जोखिममा

१० भदौ, दमक। रतुवा खोलामा आएको बाढीले झापाको लखनपुरमा कटान थालेको छ । मंगलवारसम्म लखनपुर-२ र ७ वडाका दुई विगाहा बढी क्षेत्रफल जग्गा खोलाले कटान गरेको छ । रतुवा खोलाले लखनपुर-२ को सुकुम्बासी वस्तीमा कटान गर्दा करिव एक विगाहा बढी जग्गा खोलाले लगेको गाविस सचिव राजकुमार शाक्यले बताए । केहि दिनदेखि लगातार परेको बर्षाले खोलामा बाढी आउँदा लखनपुरको सुकुम्बासी बस्ती जोखिममा पारेको उनले जानकारी दिए। उनले खोलाको जोखिम नियन्त्रण गर्न गाविसले थप रोकथामका कामहरु अगाडी बढाउने बताए । खोलाले कटान तीव्र पारेपछि स्थानीयबासी, सशस्त्र प्रहरी र गाविसको संयुक्त पहलमा विहानैदेखि आज कटान क्षेत्रमा बाँध निर्माण थालिएको छ । वाँससहित बालुवा लगाउनुका साथै खोलाको धार अन्यत्र फर्काउन रोकथामका काम गरिएको सचिव शाक्यले बताए। तस्वीर - रतुवा खोलाको कटान रोक्न स्थानीय समुदाय र प्रहरीले लखनपुरमा बाँध बनाउँदै । फोटो - विष्णु सुब्बा

Comments