लाखौंका उपकरणहरु प्रयोगविहीन

५ भदौ, दमक। कहीँ स्वास्थ्य उपकरण नभएर बिरामीले दुःख पाइरहेका छन् । कहीँ स्वास्थ्य उपकरण भएपनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नभएर बिरामीले दुःख पाइरहेको छन् । यस्तै अवस्था झापाको दक्षिणी गाविस खजुरगाछीका बासिन्दाहरुले भोग्दै आएका छन् । झापाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा भएका दुईवटा उपकरण जनशक्ति नहुँदा बर्षौंदेखि थन्किएका छन् । यहाँ ल्याइएको एक्स रे र इसिजि मेसिन जनशक्तिको अभावमा बन्द कोठामा थुनेर राखिएको छ । 'यी मेसिन ल्याएको ६ बर्ष भयो तर एकपटक पनि प्रयोग भएको छैन', सिनियर अहेव योगेन्द्र झाले भने, 'माकुराले जालो लगाएको कोठामा थुनेर राखिएको छ।' सरकारले दिएका ती लाखौं मूल्यका मेसिन अहिले काम नै नलाग्ने अवस्थामा पुगेको स्थानीयवासीहरु बताउँछन् । केन्द्रका कर्मचारीहरुको भनाई छ, 'मेसिन चल्छन् चल्दैनन् त्यो पनि हामीलाई थाहा छैन।' केन्द्र भएपनि यहाँ डाक्टर बस्दैनन् । भएका मेसिन पनि चलाउने जनशक्ति नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । झापा क्षेत्र नम्बर ६ का गौरीगञ्ज, खजुरगाछी, जुरोपानी, बैगुनधुरा, कोहबरा, कोरोबारी, महाभारा र गौरादह गाविसका बासिन्दालाई उपचार सेवा दिनका लागि यो केन्द्रको स्थापना भएको हो । यहाँ डाक्टर पनि नबस्ने र भएको सामान पनि चलाउने मानिस नहुँदा दक्षिणका बासिन्दालाई उपचारमा समस्या भएका उद्योग बाणिज्य संघ गौरीगञ्ज खजुरगाछीका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए। प्राथमिक स्वाश्थ्य केन्द्रमा आवश्यक कर्मचारी ब्यबस्थापनलगायत अन्य समस्या र योजना बनाउनका लागि सञ्चालक समिती पनि छ । नियमले हरेक महिना बस्नु पर्ने समितिको बैठक १० महिनादेखि बसेको छैन्। खजुरगाछी गाविसका सचिव एवं सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद चन्दाराका अनुसार तत्काल समितिको बैठक बसेर एक्सरे मेसिन चलाउने कर्मचारी राख्ने बिषयमा छलफल गरिनेछ । जनस्वास्थ्य कार्यलय झापाका प्रमुख चन्द्रदेव मेहेता भने, 'प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले रेडियोग्राफरको दरबन्दी नदिएको हुनाले त्यसलाई सञ्चालन गर्ने समस्या आएको हो ।' ती मेसिन नियमित रुपमा सञ्चालन गर्न स्थानीय स्तरबाट समेत पहल हुनुपर्ने उनको भनाई छ ।

Comments