व्यापारी नेताका घर-घरमा यस्तो छ तीज

विष्णु पौडेल, दमक। चौतर्फी लागेको तीज पर्वको रौनकले झापाको दमकका व्यापारी नेताका पनि घर-घरमा छोएको छ । महिलाहरुका लागि विशेष महत्वको मानिने तीज पर्वलाई व्यापारी नेताका महिला नेतृहरुले पनि अरु आमा, दिदी बहिनीहरुले जस्तै गरी हर्षोल्लासपूर्वक तीज मनाउने बताएका छन् । तीज विशेष कुराकानीमा उनीहरुले त्यस्तो बताएका हुन् । व्यापारी नेता पत्नीहरुले पनि अरुको जस्तै गरी तीज मनाउने बताएका हुन् । दमक -१ निवासी दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठकी जीवनसंगिनी अनुपमा श्रेष्ठले अरु महिलाहरुले जस्तै गरी आफ्नो परम्परागत खानेकुराहरु बनाएर आफु पनि खाने र घर परिवारका चेलीबेटीहरुलाई खुवाउने योजना रहेको बताइन् । बर्षेनी दमकस्थित घरमा र विराटनगरस्थित माइतीघरमा आधा-आधा तीज मनाउदै आएकी अनुपमाको योजना यसपाली चाहिँ पूर्ण रुपले दमकस्थित घरमै बसेर तीज मनाउने रहेको छ । आफ्नै स्वास्थ्यस्थिति प्रतिकुलताका कारण यसपाली माइत नगई घरमै सामान्य रुपले तीज मनाउने योजना बनाएको बताउँदै उनले भनिन्, 'अलि सञ्चो पनि छैन त्यही भएर यसपाली दमकमै तीज मनाउने बिचार गरेकी छु ।' माइतीघरमा बुबा आमा, दादा, भाई र दिदी बहिनीसँगै मनाउँदाभन्दा फरक महसुस नहुने गरी घरमै तीज मनाउन उर्लाबारीमा रहेकी एक जना चेलीलाई दर खान निम्तो दिइसकेको उनले बताइन् । तीजका अवसरमा नेवारी समुदायको परम्परागत खानेकुरा क्वाँटी सहित मासु, खीर, पुलाउ, आदि स्पेशल आदि खाना दरका रुपमा आफ्नो भान्सामा पाक्ने अनुपमाले बताइन् । दमक १० निवासी पार्वता ढकाल पनि व्यापारी नेताकी पत्नी हुन् । गृहणीका रुपमा रहदै स्थानीय टोल समाजका गतिबिधीमा क्रियाशील ढकालले यसपालीको तीज गाउँ टोलमा भित्रिसकेको बताइन् । व्यवसायी नेताका रुपमा स्थापित राजेन्द्र ढकालकी पत्नी हुन् उनी । उनले तीजलाई बोलाउने कुशे औंसीका दिन विराटनगरस्थित मुल घरमा गएर बुबा आमाको मुख हेरेर फर्किएलगत्तै घरमा तीज विशेष दर पकाउने काम भइरहेको बताइन् । 'माइतीघरका बुबा आमा आसामको रौताहामा हुनुहुन्छ, म चाहिं पहिल्यैदेखि माइतीघर काका काकी भाको ठाउँमा जान्छु', ढकालले भनिन् । उनले झिलझिलेमा रहेका काकाको घरबाटै आफ्नो विवाह समेत भएकाले पूर्ण रुपमा माइती गाउँ झिलझिलेलाई नै मान्ने गरेका बताइन् । यसपाली पनि माइतबाट तीजको निम्तो आइसकेकाले घरमा पतिलाई खानेकुरा बनाएर राखिदिने र छोराछोरी लिएरै माइत झिलझिले जाने उनले बताइन् । घरमा दुईजना नन्दलाई बोलाउनु पर्ने भएपनि एक जनाले यसपाली आफ्नो व्यक्तिगत कारण नै आउन नसक्ने जनाउ दिइसकेकी र एकजना नन्द पनि काठमाडौंमा रहनु भएकाले घरमा पति पत्नी र छोराछोरीले मात्रै तीज मनाएको ढकालले बताइन् । दमक-१४ क्याम्पसमोड घर भएकी दिपा रिजाल खडका युवा व्यापारी नेताका रुपमा चिनिएका महेन्द्र खडकाकी पत्नी हुन् । गृहिणी र व्यापारी महिलाको समेत पहिचान बनाएकी दिपा कुशे औंसी देखि नै माइतीघर झिलझिले गएकी छिन् । बिहान घरमा ससुरा बुबाको मुख हेरेर पति पत्नी नै माइत ससुराल गएका थिए । एक रात बसिकन ससुरा बुबाको मुख हेरेर भोलिपल्टदेखि व्यापार सम्हाल्न खडका पसल आइपुगेका छन् । पत्नी दिपा भने दर खाई, ब्रत बसेर मात्रै माइतबाट घर फर्किने योजना बनाएर उतै बसेकी खड्काले बताए । 'घरको दर एक चरण खाने खुवाउने सकेर गएका थियौं, दिपा छोरोसहित उतै बसिन्, फेरी यहाँ निरन्तर दर खाइन्छ', खड्काले सुनाए । विशेष खीर, ढकने भन्दा पनि आफ्नो मन पर्दो दर वा नियमित जस्तै खानेकुरा चाहिं मासु नै भएको खड्काले बताए ।

Comments