फेसबुकमा समाचार हाल्दा पत्रकारबिरुद्ध उजुरी

नरेन्द्र बस्नेत, १२ भदौ, मोरङ। एक अनलाइनमा प्रकाशित समाचार आफ्नो फेसबुक र पेजमा सेयर गर्दा मोरङको राजघाटका पत्रकार तेजन खड्कालाई इलाका प्रहरी कार्यलयमा उजुरी परेको छ । मोरङको राजघाट-९ स्थित नेबुला अंग्रेजी स्कुलका एक १० वर्षीय छात्रलाई 'शिक्षिकाले गराइन् ६ सय पटक उठबस' भन्ने शिर्षकमा प्रकाशित समाचार आफ्नो फेसबुकमा सेयर गर्दा उनीबिरूद्ध उजुरी परेको हो । विद्यालयले न्यूज डिलिट गर्नुपर्छ भन्दै उजुरी गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । पत्रकार खड्काले आफ्नो फेसबुक र उर्लाबारी पेज डटकममा साभार भनेर हालेको समाचार डिलिट गर्नुपर्ने भन्दै उजुरी परेको कार्यालयका प्रहरी नायव निरीक्षक बबिन्द्र नेम्बाङले जानकारी दिए। 'अनलाइनमा आएको समाचारबारे अनलाइनबिरुद्ध उजुरी गर्नुपर्नेमा पत्रकार खड्कामाथि उजुरी परेको छ', प्रहरी निरीक्षक नेम्बाङले भने, 'स्रोत खुलाएर पोष्ट गरेको रहेछ । उजुरी फिर्ता लिन भनेको छु ।' समाचार फेसबुकमा हाल्दा स्कुललाई असर पर्ने उजुरीमा बताइएको छ । समाचार गलत हो भनेर उजुरी गरिएको छैन। पत्रकार खड्काले अनलाइनमा आफ्नो गाउँठाउँको समाचार आएर फेसबुकमा सेयर गरेको बताएका छन् । पत्रकार खड्का भन्छन्, 'अनलाइनमा आएको समाचार फेसबुकमा सेयर गर्न नपाइने हो ? मेरो फेसबुकमा भन्दा अनलाइन खबरमा धेरै हेर्छन् ।' बिभिन्न सन्चारमाध्यम आएको यस विद्यालयको समाचार बारे भने उजुरी परेको छैन् । यस बिषयमा भोलि इलाका प्रहरी कार्यालयमा छलफलका लागि बोलाएको पत्रकार खड्काले बताए । पत्रकार खड्काको अनुसार त्यो न्यूज डिलिट हाने कुरै सकियो भन्दै नेता, शिक्षकहरुबाट दवाब स्वरुप फोन आइरहेका छन् ।

Comments