सडक नपुगेका गाविसमा तुरून्तै बिस्तार गरिने

योगी योगेन्द्र, २ भदौ, संखुवासभा । संखुवासभा जिल्लामा सडक नपुगेका १० गाविसमा यसै आर्थिक वर्षबाट ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) ले सडक बिस्तार गर्ने जनाएको छ। जिल्ला विकास समितिले जिल्ला सडक बिस्तार गरेका २३ सडकमध्ये १६ सडकमा काम शुरु गरेको थियो । सडक नछोएको किमाथाङ्का, हटिया, चेपुवा, पावाखोला, वाला, सिसुवाखोला, ताम्कू, माङतेवा, यापू गाविसमा सडक सञ्जाल बिस्तार गर्ने कार्यक्रमअन्तर्गत वालासिसुवा क्षेत्रतर्फ जाने गाविसमा ट्र्याक ओपन गर्ने लक्ष रहेको छ । र्‍याप थ्री कार्यक्रमका जिल्ला प्रमुख कृष्णशरण ढुङ्गानाले नयाँ बाटो खोल्नेभन्दा पनि खोलिएका पुरानै बाटोलाई १२ महिना नै यातायात सञ्चालन गर्न सक्ने बाटो तयार गरिने बताए । सडक सञ्जाल अन्तर्गत छनौट गरिएका १६ वटा सडकमध्ये केहीमा ट्र्याक ओपन समेत गर्नुपर्ने भएकाले काम शुरु गरिहाल्नु पर्ने ढुङ्गानाले बताए । 'एक सय १३ किलोमिटर सडक नयाँ खन्नु पर्नेछ', उनले भने । कोशी लोकमार्गले पाथीभरा, हटिया, चेपुवा र किमाथाङकालाई जोड्ने भए पनि सडक राष्ट्रिय सडकको आफ्नै स्टिमेट र मापदण्ड अनुसार जाने भएकाले जिल्ला सडक सञ्जालको मापदण्डमा नपर्ने भन्दै उक्त क्षेत्रमा सडक बिस्तारका लागि राजनैतिक दलहरुले समेत पहल शुरु गरेका छन् । चैनपुर–बाह्रबिसे सडकमा मर्मत गर्न र्‍यापले एक करोड रुपैयाँसम्म लगानी गरेको जनाएको छ ।

Comments