कम्प्यूटर प्रिन्टेड नागरिकता बितरण शुरु

१४ साउन, दमक। झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले कम्प्यूटरबाट नागरिकता वितरण शुरु गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना पहिलोपटक आधुनिक प्रविधिबाट नागरिकता वितरण शुरु गरेको हो । कम्प्यूटरबाट प्रिन्ट गरेर जारी गरिएको सो पहिलो नागरिकता दमक-१५ की उषा पौडेललाई हस्तान्तरण गरिएको थियो। हस्तलिखीत नागरिकता कामकाजी हिसावले अब्यवहारिक भएकाले समय अनुसार नयाँ प्रविधितर्फ आकर्षित भएको कार्यालयका अधिकृत तिलोचन रिमालले जानकरी दिए। उनले कम्प्यूटरबाट नै नागरिकता जारी गर्न प्रविधियुक्त संरचनासमेत तयारी गरिएको बताए।

विद्युत सेवा नहुँदासमेत नागरिकता दिन सकिने उनको भनाई थियो । २०४८ सालमा स्थापना भएको सो कार्यालयले दमक नगरपालिका सहित दशवटा गाविसका बासिन्दाहरुलाई नागरिकता तथा राहदानीका सरकारी सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालयले दैनिक तीन दर्जन बढी नयाँ नागरिकता जारी गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय झापाले भने दुई बर्ष अघिदेखि नै कम्प्यूटर प्रिन्टेड नागरिकता वितरण गर्दैआएको छ ।

Comments