गोलधापमा अनिश्चितकालीन आन्दोलन


झापाको गोलधापस्थित शिविरका शरणार्थीलाई शिविर बाहिर आवतजावत गर्न आज पनि स्थानीयवासीले रोक लगाएका छन् ।
बिभिन्न छवटा माग राखी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका उनीहरुले दातृ निकायका गाडीसमेत चल्न दिएका छैनन् ।
शरणार्थी प्रभावित क्षेत्र गरामुनी गाबिसका बासिन्दा हिजोबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । आज बिहानैदेखि शिविरका शरणार्थीलाई बाहिरभित्र गर्न रोक लगाइएको बताउँदै संर्घष समितिका संयोजक शान्ता उप्रेतीले भनिन, 'तेस्रोदेश जाने तयारीमा रहेका र त्यही प्रकृयामा दमक पुग्नेलाई भने हिंडेर शिविर बाहिर जान दियौं।' शरणार्थीलाई सहयोग गर्दै आएका दातानिकायका गाडीलाई शिविर प्रवेशमा रोक लगाइएको उनले बताएकी छिन् ।


स्थानियको अवरोधका कारण आज तेस्रो देश जान ठिक्क परेका गोलधाप शिविरका शरणार्थी साढे पाँच किलोमिटर परसम्म पैदलै हिंडेर अन्तराष्ट्रिय आप्रवासी संगठन(आइओएम) का गाडी रोकिएका स्थानसम्म पुगेका थिए । आइओएम शरणार्थीको तेस्रोदेश पुनर्वासमा सहयोग गर्दै आएको संस्था हो । तेस्रो देश जाने झापा र मोरङका सातै शिविरका शरणार्थीलाई संस्थाकै गाडीले भद्रपुर बिमानस्थलसम्म ओसार्ने गरेको छ ।
शिविरमा भएको अवरोधका कारण आज प्रशासनिक काम प्रभावित भएको छ । गृहमन्त्रालय मातहतको शरणार्थी समन्वय इकाई कार्यालयका कर्मचारीलाई काम गर्न स्थानियले अवरोध पुर्‍याएका छन् । शिविरस्थित अस्पतालको आकस्मिक सेवा पनि बन्द भएको छ । तेस्रो देश जाने प्रकृयामा रहेका शरणार्थीको अन्तर्वार्ता, स्वास्थ्य परीक्षण लगायत विषय समेटिएको जानकारी शिविरसम्म पुर्‍याउने काम हुनसकेको छैन् ।

गोलधापका शरणार्थीलाई दमकस्थित बेलडाँगी शिविरमा सार्न शुरु गरिएसँगै स्थानियवासीले शरणार्थी प्रभावित क्षेत्रको विकास निर्माणमा सहयोग गर्न दाता निकायसँग माग राख्दै आएका छन् । उनीहरुले हाल शिविर रहेको स्थानमा बोटानिकल गार्डेन निर्माण गरिनुपर्ने, गरामुनीदेखि शिविरसम्म र बुट्टावारी पदमकघट्टी सडक पक्की गर्नुपर्ने, तीनसय घरधुरीलाई सिंचाई सुविधा उपलब्ध गर्दै आएको पैनी मर्मत र पुनर्निर्माण गर्नुपर्ने, शुक्र निमावि देखि देउनिया स्कुल सम्मको सडक ग्राभेल गर्नुपर्ने र शिविर आगलागी हुदाँ घर जलेर नष्ट भएका स्थानिय मानबहादुर भुजेललाई दशलाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् ।
संघर्ष समिति संयोजक उप्रेतीले भनिन्, 'माग पूरा नहुन्जेल आफ्नो अडानबाट टसको मस नहुने हाम्रो सहमति छ ।' मे महिनाको पहिलो साता शुरु भएको गोलधापका शरणार्थीलाई दमकको बेलडाँगी सार्ने कार्यक्रम अर्न्तगत दुइ हजार शरणार्थी दमक आईसकेका छन् । स्थानियवासीको अवरोधका कारण यो काम पनि हुन सकेको छैन् । शरणार्थी मामिलासम्बन्धी राष्ट्र संघीय उच्चायोग (युएनएचससीआर) र नेपाल सरकारले शरणार्थी प्रभावित क्षेत्रमा स्वास्थ्य, वातावरण, शिक्षा, सामाजिक विकास र जीविकोपार्जनको क्षेत्रमा के कति सहयोग गर्न सकिन्छ भनेर यसअघि नै अध्ययन गरिसकेको छ । तर सहयोगका कार्यक्रम कसरी र कहिलेदेखि संचालन हुने भन्ने निर्क्योल भइसकेको नसकेको बताइएको छ ।



कुमार


Comments