यो विवाह केका लागि ?

प्राणघातक सरुवा रोग लागेपछि केटा वा केटीले ढाँटेर विहेगर्नु उचित हुन्छ होला ? त्यसमा पनि विहेपछि आमा र नावालक शिशुलाई समेत त्यही रोग सर्यो भने उनीहरुको स्थिति के होला ? पक्कै पनि उनीहरुको जीवनमा नसोचेको असहज परिस्थिति आईलाग्ने निश्चित छ । अहिले यस्तै परिस्थितिको सिकार भएकी छिन् मोरङ माईती भएकी झापाकी एक महिला ।
मोरङको जाँते वार्ड नम्वर ३ माईती घर भएकी कल्पना ढकाललाई तोपगाछी ८ का तुलसी सिटौलाले २०६५ सालमा मागी विबाह गरेका थिए । विहे भएको २ वर्षपछि एक सन्तान (छोरा) पनि जन्मियो । तर छोरा जन्मिएको केही महिनामा नै सिकिस्त बिरामी भएर विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएका तुलसीको ३ महिनाअघि मृत्यु भयो । तुलसीको मृत्यु न कर्तब्य नत भवितब्य, उनको मृत्युको कारण थियो प्राणघातक सरुवा रोग एड्स ।


वैदेशिक रोजगारीका लागि मलेसिया देशबाट ५ वर्षअघि फर्किएका तुलसीले उनको प्राण जानुभन्दा केही महिना अघि रोगले सिकिस्त पारेपछि मात्र उनकी श्रीमती कल्पनालाई आफ्नो प्राणघातक सरुवा रोगको बारेमा बताएका थिए । प्राण जानुअघि श्रीमानले भनेको कुरा सम्झदै कल्पनाले भनिन् 'मैले तिमीलाई मेरो रोगको वारेमा थाहा नदिई झुक्याएर विहे गरें । म मरेर गएपनि, मलाई जति सजाय दिएपनि मैले तिमीलाई गरेको पापले मेरो आत्मालाई सताई नै रहने छ ।' कठोर मुद्रामा प्रस्तुत भएकी कल्पनाले भनिन् 'मेरो श्रीमानले मलाई ढाँटेर विहे गरेपछि जन्मिएको बच्चा र मलाईसमेत एड्स संक्रमित भएको डाक्टरले प्रमाणित गरेपछि मलाई वाँकी जीवन जिउन गाह्रो भएको छ ।'


पिडित कल्पना

कल्पना आफ्नो श्रीमानले मर्नुअघि भनेको कुरालाई जोड्दै भन्छिन्, 'मेरो रोगको बारेमा मैले तिमीलाई विहे गर्नुअघि वुबा, आमा र मामालाई थाहा दिएको थिएँ । मलाई मलेसियामा नै रोग लागेको थियो । मलेसियामा नियमित स्वास्थ्य जाँच गराउने क्रममा मेरो रोगको पत्ता लागेपछि मलाई नेपाल फिर्ता पठाएको थियो', श्रीमानले भनेका कुरा सम्झिँदै उनले थपिन् ।
'मलाई झुक्याएर विहे त गर्यो नै तर मेरो घरबाट आजसम्म नत विहे दर्ता नै गरिदियो नत वच्चाको जन्मदर्ता नै, नत नागरिक्ता नै । पटकपटक दर्ता गराउन भने पनि पछि भै हाल्छ नि भनेर आलटाल गर्यो । आखिरीमा उनीहरूको नियत नै मेरो जीवनसँग खेलबाड गर्नुरहेछ, त्यसैले मेरो लागि कानुनी आधारहरु केही पनि बनाईदिएनन् ।'


'मेरो श्रीमानबाट मलाई सरेको एड्स रोग पत्ता लगाउने विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मलाई परामर्श नदिएको भए मेरो बाँकी जीवन गुजार्न कठिन हुने थियो', भन्दै कल्पनाले भनिन्, 'म र मेरो वच्चामा सरेको एड्स रोग नीको हुने सम्भावना धेरै रहेको प्रतिष्ठानका डाक्टरले भनेका छन् ।'
मान्छेले विहे केका लागि गर्ने ? जीवनसाथी बनाउन वा वंश चलाउन वा यौनिक आवश्यक्ता पूरा गर्न ? जे सुकै भएपनि विहे सामान्यतः यिनै कुराहरुको परिपूर्तिका लागि नै गर्ने दुनियाको नियम हो । तर प्राणघातक रोग लागेकाले स्वस्थ ब्याक्तिलाई झुक्याएर विबाह गर्नु पक्कैपनि ठूलो अपराध हो । आज झापामा भएको यो घट्ना नेपालका अनेकौं क्षेत्रहरुमा पनि घट्न सक्छन् । त्यसैले यस घटनाको पाठले नयाँ पिंढी सचेत हुने बेला भने पक्कै भएको छ ।

नगेन्द्र

यो लेख पढेपछि यहाँहरूसँग एउटा कुरा सोध्न चाहन्छु - तुलसी भन्ने मान्छे त मरेर गयो सकियो, तर उसका बाबु, आमा र मामाले यो कुरा पहिले नै थाहा पाइसकेको हुनाले झुक्याएर विवाह गराएको अभियोगमा उनीहरूले कानुनी कार्वाहीको भागिदार हुनु पर्छ कि पर्दैन ?
यो प्रश्नको जवाफ मैले दिनुपर्दा म भन्छु - पर्छ र त्यो पनि कमसेकम जन्मकैद ।
तपाइ के भन्नुहुन्छ ?

Comments

  1. सार्है दु:ख लाग्यो दाई यो समाचार पढेर,मरे पनि उस्लाई नर्कमा यमराजले पापको लागि उमालेको तेल मा डुबाउदै होलान |

    ReplyDelete

Post a Comment