अव भेडेटारमै प्याराग्लाइडिङ


रमणीय दृष्यावलोकन, पिकनिक र डेटिङ स्पटका लागि पूर्वाञ्चलकै प्रख्यात भेडेटार अव थप नयाँ कामका लागि परिचित हुने भएको छ । आजसम्मको आफ्नो गरिमामय परिचयलाई एक खुड्किलो माथि उकास्दै भेडेटार अव प्याराग्लाइडिङ स्थलका रुपमा समेत प्रसिद्ध हुने भएको छ ।


नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा सुनसरीको पाँचकन्या-८ भेडेटारबाट आजदेखि प्याराग्लाइडिङ सेवाको परीक्षण उडान शुरु गरिएको छ ।



पर्यटन तथा वातावरण पत्रकार समूह नेपाल इटहरी सुनसरीको संयोजनमा पाथीभरा क्लब भेडेटार र मुनलाइट क्लब पाँचकन्याको सक्रियतामा प्याराग्लाइडिङ सेवाको परीक्षण उडान शुरु गरिएको हो ।
प्याराग्लाइडिङ पाइलट मणिराज राईले करिब ३ घण्टा आकाशमा प्याराग्लाइडर उडाएर सफल परीक्षण प्रदर्शन गरेका छन् ।
सुनसरी पाँचकन्या ८ भेडेटार क्षेत्रबाट धरानसम्मको १७ किलोमिटर क्षेत्रमा प्याराग्लाडिङ गराएर साहसिक पर्यटन प्रबर्धनका लागि क्लबहरुको सक्रियतामा प्याराग्लाडिङ सेवा प्रारम्भ गर्नका लागि पोखरामा तालिम समेत प्रदान गर्ने कार्य भइरहेको छ ।
प्याराग्लाइडिङ उडानस्थलको निर्माण भइसकेको र त्यसलाई अरु सुधार गरेपछि उडान शुरु गरिने तयारी भइरहेको जनाइएको छ ।



भारतीय पर्यटकहरुकोसमेत गन्तव्यस्थलको रुपमा रहेको भेडेटारमा रहेको सैलुङ डाँडाबाट कञ्चनजङ्गा हिमाल, सगरमाथा तथा अरु मनोरम पहाडी चुचुरा र धेरै जिल्लाका सदरमुकामको दृष्यावलोकन गर्न सकिने स्थानको रुपमा भेडेटार प्रख्यात छ ।

Comments