नारायणहिटीमा फिल्म सुटिङ


गणतन्त्र घोषणाको ठीक नौ महिनापछि गत फागुन १५ मा नारायणहिटी दरबारलाई सर्वसाधारणका लागि संग्रहालयको रूपमा खुला गरिएको थियो। र, संग्रहालय बनेको नौ महिनापछि नारायणहिटीमा मंगलबार पहिलोपटक फिल्मको सुटिङ भयो।




बुटवलको एक समूह संलग्न फिल्म 'जिन्दगानी दर्पणछायाँ'को एउटा गीत नारायणहिटीमा खिचिएको हो। नारायणहिटीको मूल भवनअगाडि र पछाडिको बगैंचामा दिलिप रायमाझी, नन्दिता केसी, सन्तोष अग्रहरि र रजनी प्रधानले नाचेको दृश्य फिल्ममा कैद गरिएको छ।




वीरेन्द्र अग्रहरिको कम्पोजमा वीरेन्द्र र जुना प्रसाईले गाएको 'सम्हाल तिम्रो पछ्यौरी' बोलको उक्त गीतको नृत्यनिर्देशन दिनेश अधिकारी र छायांकन मनीष पन्तले गरेका थिए। फिल्मका लेखक र निर्देशक मनीष आफै हुन्। उनले यसअघि चारवटा जति डिजिटल फिल्मको निर्देशन गरिसकेका छन्। रोहित पुरी निर्माता रहेको यो 'जिन्दगानी दर्पणछायाँ' पनि डिजिटल प्रविधिको फिल्म हो।


काठमाडौं आउन नसक्ने दर्शकले पनि नारायणहिटी दरबारका दृश्य हेर्न सकून् भन्ने उद्देश्य आफूहरूको रहेको निर्देशक मनीषले बताए। दरबारको बाहिरी सौन्दर्यलाई फिल्ममा समेट्न पाएकोमा निर्माण टोली प्रसन्न छ। निर्माता रोहितले भने, 'नारायणहिटीमा सुटिङ गरिएको पहिलो फिल्म हुनु गर्वको विषय हो।'

सुरक्षा व्यवस्था निकै कडा भएको र संवेदनशील मानिएको दरबारमा सुटिङ गर्न पाउँला भन्ने आश निर्माता रोहितलाई थिएन। त्यसैले निर्माण नियन्त्रक शंकर पाण्डेले संग्रहालयबाट अनुमति पाएको खबर सुनाउँदा उनले सुरुमा विश्वास गरेका थिएनन्। किनभने यसअघि सुरेश अधिकारीको फिल्म 'तिमी मेरो म तिम्रो'का लागि शंकरले नै अनुमति माग्दा संग्रहालयले दिएको थिएन।


संग्रहालयले संस्कृति मन्त्रालयको निर्देशनबिना अनुमति दिन नमिल्ने बताउँदै शंकरलाई फिर्ता पठाएको थियो। त्यसपछि शंकरले मन्त्रालयका अधिकारीहरूसँग सम्पर्क गरेर अनुमति लिएका हुन्। उनले भने, 'हामीलाई अनुमति दिने कुरा मन्त्रालयको बैठकले पारित गरेको हो भन्ने सुनेको छु।'

सुटिङ गर्दा फूलबिरुवा नासिएमा, गमला फुटेमा वा कुनैपनि भौतिक टुटफुट भएमा त्यसको हर्जाना बेहोर्ने शर्तमा फिल्म टोलीले सुटिङ गर्ने अनुमति पाएको हो। सुटिङका लागि निश्चित शुल्क तिरिएको बताउने रोहितले रकम उल्लेख गर्न चाहेनन्।

सुटिङ हेर्न भीडभाड होला भनेर फिल्म टोलीले संग्रहालय बन्द हुने दिन मंगलबार काम गरेको हो। एक दिनका लागि अनुमति दिइएकोले उनीहरूले सुटिङ द्रूत गतिमा सिध्याएका थिए। सुटिङको दिन दरबारभित्र पकाउन नदिएपछि बाहिरबाट प्याकिङ गरेर खानेकुरा ल्याइएको थियो।सुटिङ गर्ने दृश्यका बारेमा संग्रहालयका अधिकारीले अग्रिम जानकारी लिएका थिए।

काठमाडौंका फिल्महरूमा व्यस्त शंकर आगामी दिनमा पनि संग्रहालयमा सुृटिङ गराउने सोचमा छन्। तर, भविष्यमा अनुमति पाउने हो कि होइन भन्ने विषयमा उनी निश्चित छैनन्।

Comments