जेष्ठ नागरिक सम्मानित

१९ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा झापा जिल्लामा रहेका सब भन्दा जेष्ठ दुई नागरिकलाई आज सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले आज आफ्नो नवनिर्मित भवन उदघाटन गर्न आयोजना गरिएको विषेश कार्यक्रममा जिल्लाका जेष्ठ नागरिकहरूको सम्मान गरेको हो ।



प्रतिष्ठानबाट सम्मानित दुइ नागरिक घैलाडुव्वा-२ का १०१ वर्षिय रन बहादुर लिम्बु र दमक-१५की १०६ बर्षिया महिना देवी घोर्साईलाई फूलमाला, लौरो, खास्टो, कदर-पत्र, १-१थान करुवा सहित रु.५०० प्रमुख अतिथि दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, विशिष्ट अतिथि मदन भण्डारी स्मृति प्रतिष्ठानका उपाध्यक्षा रोमनाथ ओली र प्रतिष्ठानका सल्लाहकार सभापति देवेन्द्र दहालको वाहुलीबाट सम्मान गरिएको कार्यक्रमका सभापति भवानी प्रसाद दहालले जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति भवानी प्र.दहालले भवन निर्माण सम्बन्धि लागत विवरण, आर्थिक वर्ष २०५६/६६को आम्दानी विवरण, भवन निर्माणमा  सहयोग गर्ने  दाता तथा संघ-संस्थाहरुको नामवाली प्रस्तुत गर्नुका साथै भावी कार्यक्रमवारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले जेष्ठ नागरिकहरुको सम्मानमा नेपाल सरकार निरन्तर रूपमा लाग्नु पर्नेमा जोड दिनु भएको छ । त्यसैगरी समाजिक अगुवा तथा कार्यक्रमका अतिथि शेर बहादुर भट्टराई, कर्ण कुमार श्रेष्ठ, रुद्र तामाङ्ग लगायत प्रमुख अतिथि पशुपति खतिवडाले जेष्ठ नागरिकलाई सहयोग र समर्थन गर्नु हाम्रो कर्तब्य हो भनि मन्तव्य राख्नु भएको थियो ।

भवन उद्घाटनका साथै प्रतिष्ठानमा निःशुल्क आँखा शिविर मेची आँखा अस्पताल विर्तामोड र जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक १०को संयुक्त सहयोगमा सञ्चालन भएको थियो । शिविरमा झापा, मोरङ्ग र भूटानी शरणार्थी शिविरका १२० जना जेष्ठ नागरिकहरुको सहभागि रहेको थियो । त्यसमा ८ जनाको निःशुल्क मोतीविन्दु शल्यकृयाका लागि मेची आँखा अस्पताल विर्तामोडमा   लगिएको दहालले जानकारी दिनु भएको छ ।




Comments