प्याराग्लाइडिङ्गका पारखी स्कट चरासँगै आकाशमा...



प्याराग्लाइडिङ्गका पारखी स्कट मीसन चरालाई पछ्याउँदै आकाशमा उड्न थालेको सातवर्षभयो । जुन उचाईसम्म चराले न्यानो, तातो हावा पाउँछ त्यहीँसम्म उड्छ । चरालाई पछ्याउँदै स्कट पनि उडछन् कावा खाँदै आकाशमा । सुन्दर फेवाताल माथि सराङ्गकोट डाँडाबाट प्याराग्लाइडिङ्गमा उडान शुरु हुन्छ । ग्लोब लगाएको हातमा चरा हुन्छ । अनि चरालाई उडाउँछन । त्यसपछि चरासँगै चक्कर खान्छन् उनी आकाशमा ।

यी तालिम प्राप्त चराहरू हुन् । स्कट भन्छन, "जसले प्याराग्लाइडरलाई न्यानो तातो हावा थर्मल भएतिर लैजान्छ, कहिलेकाहीँ वृत्ताकारमा चक्कर खाँदै डाइफ हान्ने कला सिकाउँछ । " कहिलेकाँही त चरासँगै आकाशमा उड्दैमा दिन बित्छ स्कटको । 

मौसम, तापक्रम र भौगोलिक आकर्षणका कारण संसारकै पाँचौं उत्कृष्ट प्याराग्लाइडिङ्ग गर्ने स्थलका रूपमा प्रसिद्ध पोखरामा सातवर्षघि सुरु भएको यो कार्यलाई प्याराहकिङ्ग नाम दिइएको छ । संसारकै पहिलो प्याराहकिङ्ग हो यो ।

अनुकूल मौसम, वर्षो आठ महिनासम्म उड्न सकिने, हिमाल तथा प्राकृतिक दृश्यावलोकनले प्याराग्लाइडिङ्गको लागि प्रसिद्ध यहाँ वाषिर्क झण्डै तीन हजारले उडान भर्ने व्यवसायी बताउँछन् । तर तीनको हुलमा चरासँगै आकाशमा उड्ने काममा भने स्कट अनौठो ढंगले व्यस्त देखिन्छन् । गुँडबाट खसेका, विरामी परेका वा घाइते रैथाने शिकारीचरा ल्याएर पालेको उनले बताए । तीनको उपचार र संरक्षण गरेर तालिम दिइएको छ । संसारमा साहसिक खेलका रूपमा विकसित प्याराग्लाइडिङ्गको पारखीसँगै उड्ने चरालाई तालिम दिन कम्तिमा तीन महिना लाग्छ ।

त्यहाँ तीनवटा ब्ल्याक काइट्स रैथाने चरा छन् । नाम सपना दिइएको छ । इजिप्सीयन गिद्ध र पोथी हडग्सन्स हक चील पनि छ । ब्ल्याक काइट्स र गिद्ध प्याराग्लाइडिङ्गको लागि हो । चील सौखले पालिएको हो । गोलाकार घरमा तारले बारेर पालिएको छ ।

पोखराको पश्चिमपट्टी लेकसाइडबाट साढे दुइ किमी फेवाताल किनारको रमणीय भागमा मायादेवी भिलेज नाम दिएर रेष्टुरेण्ट चलाएका उनले यसलाई प्याराहकिङ्गको गन्तव्यका रूपमा विश्वमा चिनाएका छन् । चराबारे रुचि राख्ने, चरासँगै उड्न इच्छुक र चराको उपचार खोज्नेहरू पनि उनीकहाँ पुग्छन् ।

"चरासँग उड्दा सुरक्षित हुन्छ र उडानका कला देखाउँछ," आकाश उड्दाका अनुभव बताउँछन स्कट । ग्लोब लाएको हातमा चरासँगै लिएर उडिन्छ । हावामा चराले उचाई लिएर उडान भर्छ । हातमा आएर बस्छ र फेरि उडेर चराले आफूसँगै तान्छ । "यसरी उड्नुको मज्जा नै बेग्लै हुन्छ, आर्श्चर्यजनक, साहसिक र रोमाञ्चकारी ।"

विदेशीहरू यही चरासँग उड्न आउने वाषिर्क दुइ दर्जन बढी हुने गरेको बताइन्छ । चरासँग विशेषगरी तालिम प्राप्त पाइलटहरू उड्छन् । " उडानको सिद्धान्त उही हो चरा र मान्छेको । तातो हावा पछ्याउँदै उडने," सनराइज प्याराग्लाइडरीङ्ग कम्पनी पोखराका पाइलट राजेश बमजन भन्छन् - शिकारुले सक्दैन र तालिमप्राप्त पाइलटले उड्ने हो । पाइलट राखेर उड्ने टेण्डम फलाईटमा बसेर चरासँग उड्न सकिन्छ ।

सबै चरा उड्न सक्दैनन् । नसक्नेहरूले मौसमको जानकारीसम्म दिन्छन् । सानैदेखि चराप्रति आकर्षिर् स्कटले चराबारे अध्ययन र तालिम दिन थालेको २५ वर्षभएको बताए । "त्यही अनुभवलाई समेटेर प्याराग्लाइडिङ्गप्रति रुचि भएकोले प्याराहकिङ्ग सुरु गरेको हो," स्कटले भने । पोखरामा सात वर्षअघि स्कट, एडम हिलसहितको विशेषज्ञ टोलीले प्याराहकिङ्गको विकास गरेको हो । फेवातालको रातमाटा, सराङ्गकोट र माटेपानीमा पुगेर शिकारी चरासँगको उडान गर्ने गरिएको छ ।

प्याराग्लाइडिङ्गमा दुइथरि उडान गरिन्छ । एउटा १५ सय मिटर उचाइको सराङ्गकोट माथिको आकाशमा न्यानो हावा भेटिन्जेल चील र गिद्धसँगै उडेर आधाघण्टामा ताल किनारमा ओरालिन्छ । अर्को एउटा उपत्यकाबाट अर्को उपत्यकामा उड्ने । तापक्रम, बादल र चराको निर्देशनमा लहरै उत्तरतर्फदेखिने हिमालतर्फएकदेखि डेढ घण्टाको क्रस क्रन्ट्री उडान गरिन्छ ।

मुख्य मौसम अक्टोवरदेखि जनवरी हो । व्यावसायिकतर्फअहिले दैनिक ४० जनाले उडान भर्ने गरेको र पोखरा प्याराग्लाइडिङ्गमा उड्नेहरू वार्षिक तीनहजार हुने पाइलट वमजनले बताए । तिनमा प्रायः सबै विदेशी छन् । विदेशीलाई ८५ डलर र नेपालीलाई ४५ सय शुल्क लाग्छ । उडानका लागि तीन व्यावसायिक संस्था छन् । विश्वकै सुन्दर नगरी पोखरामा साहसिक खेलको रूपबाट पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ्गले ठूलो योगदान पुर्याएको क्षेत्रीय होटल सङ्घका सल्लाहकार नीलकण्ठ शर्मा बताउनुहुन्छ । 

टान क्षेत्रीय च्याप्टरले पोखरामा विश्वकप प्रतियोगिता गर्ने लक्ष्यसाथ आठौँ अन्तरराष्ट्रिय प्याराग्लाइडिङ्ग प्रतियोगिता गरिसकेको छ । "विश्वमा नेपालमा मात्र चरासँग उड्ने प्याराहकिङ्गको आकर्षणले प्याराग्लाइडिङ्गका पाइलटलाई नयाँ विषय र आकर्षण थपेको छ," प्रतियोगिताका संयोजक टिकाराम सापकोटाले भन्नुभयो ।

यहाँबाट आठहजार मिटर अग्ला अन्नपूर्ण, धौलागिरी, मनास्लुसहित माछापुच्छ्रे हिमाल लहरै दैखिन्छन् । पहाडी भौगोलिक बनावट, मादी, सेतीलगायतका नदीहरू, पोखरा उपत्यका, फेवातालसहित सात तालको वाटिका सहर लेखनाथको दृश्यावलोकन मनोहर देखिन्छ । दैनिक दुइचोटि चरासँग उड्ने स्कटले चरासँग आकाशमा लुकामारी खेल्दै उडनुको साथै प्राकृतिक सौर्न्दर्यको पनि मज्जा पाइलटहरूले लिने हुँदा प्याराग्लाइडिङ्गको लागि भारत, युरोपीयन मुलुकभन्दा नेपाल उत्कृष्टस्थल रहेको धारणा राखे । 

विहान उठ्नु, चरालाई खुवाई पियाई गर्नु र घाम चर्किंदै गएपछि चरासँगै उड्नु स्कटको दिनचर्या हो । एउटा चराले दैनिक सय रूपैयाको मासु खान्छ । हेर्नेहरू र चरासँगै उड्न चाहने प्याराग्लाइडरहरू मायादेवी भिलेजमा उत्तिकै आउँछन् । वरपरका मानिसहरूले चरा घाइते हुँदा उपचार गर्न ल्याउने गरेको बताउँदै सेतो पुच्छर भएको चील चिडियाखानामा पुर्‍याएको बताए । 


Comments