गइन् १०८ वर्षे ब्लगर


रिलेका स्मृतिहरूलाई खोतल्नु एकदमै सुखद् थियो । उनीसँग त स्मृतिको खजाना नै थियो ।
विश्वकै सबैभन्दा वृद्ध ब्लगर ओलिव रिलेको १०८ वर्षको उमेरमा शनिबार देहान्त भएको छ । उनी अस्ट्रेलियामा बस्थिन् ।
फेब्रुवरी, २००७ देखि उनले ब्लग लेख्न थालेकी थिइन् । ब्लगमा उनको मृत्युअगाडिसम्म लेखिएका ७० वटा फरक विषयका ब्लगहरू रहेका छन् ।
ब्लगमा उनले आफ्नो लामो जीवनको अनुभव र आधुनिक जीवनका बारेमा आफ्ना विचारहरू व्यक्त गरेकी छिन् । ब्लगमा दुवै विश्वयुद्ध र आर्थिक मन्दीका बारेमा पनि कुरा उठाएकी छिन् ।
२६ जुनमा लेखिएको अन्तिम ब्लगमा उनले आफ्नो अस्पताल 'केयर होम' का नर्स र आफूलाई भेट्न आएका शुभचिन्तकसँग खुसीका गीत गाएको उल्लेख गरेकी छिन् ।
गएको शनिबार न्यू साउथबेल्सको एउटा नर्सिङ होममा उनले आफ्नो १०८ वर्ष पुरानो देहत्याग गरिन् ।
उनको मृत्युपश्चात् उनको ब्लगमा अन्तिम सन्देश यसरी लेखिएको छ, 'हाम्री पि्रय मित्र ओलव रिले आफ्नो जीवनको अन्तिम सास फेरिन् । हजारौं इन्टरनेटका मित्रहरू र सयौ आफन्तहरूलाई उनको रित्तता महसुस भइरहनेछ ।'
रिलेले आफ्नो अन्तिम ब्लगमा लेखेकी छिन्, 'मलाई विश्वासै हुन सकेको छैन, म दुई हप्तादेखि नर्सिङ होममा छु । नर्सहरूले मेरो हेरविचार राम्रोसँग गरिरहेका छन् ।'
रिलेको जन्म २० अक्टोवर १८९९ मा ब्रोकेन हिलमा भएको थियो । डकुमेन्ट्री निर्माता माइकल रुब्बोले बताएअनुसार नै उनलाई ब्लग लेख्न सल्लाह कुनै मित्रले दिएका थिए ।
अस्ट्रेलियाको एबिसी न्युजलाई रुब्बो भन्छन्, 'रिलेका स्मृतिहरूलाई खोतल्नु एकदमै सुखद् थियो । उनीसँग त स्मृतिको खजाना नै थियो ।'
रिलेका नातिका अनुसार उनी ब्लगका माध्यमबाट संसारभरिका नयाँ मानिससँग जोडिएकी थिइन् । यसले उनको मन र दिमागलाई सधै ताजा बनाइराख्थ्यो ।

Comments