र, उसको नाउँ भारत हो

नराम्रोभित्र राम्रोको खोजी गर्नु बाहेक अहिलेलाई कुनै विकल्प छैन । राम्रा केही थिए भने मरिसके, अरु जन्मनै बाँकी छन् जस्तो लाग्छ । अहिले समयको आसय यस्तै छ । यो समय नै आफै गलत हो कि जस्तो अनुभूत हुदैछ । समय गलत भएपछि सोचाइ गलत हुनु स्वाभाविकै हो । हुन त सोचाइ गलत भएपछि समय नै गलत भएको भान पनि पनि हुन्छ । दुविधामा छ समय आफैं अनि अकर्मण्य छ मान्छेको मनस्थिति । यथार्थमा हाम्रो मनस्थिति ! गन्जागोल छ नव गणतन्त्र नेपालको स्थिति ।

शूरहरु सहिद भए चतुरहरु नेता भए । चतुर नेताहरु सत्ता आरोहणका लागि आतुर छन् । थोत्रा भित्तामा कताकति टाँगिएका सहिदहरुको कसम खान्छन् नेताहरु सहिद मञ्चमा । सबै विर्सिएर अर्को कसम खान्छन् विदेशीहरुको डिनर र लन्चमा । लन्च र मञ्चकाबीचमा ठूलो भिन्नता छ, त्यो भिन्नताभित्र भौतारिएकाछन् नयाँ नेपालका पुराना नेताहरु ! नयाँहरुले त झन् राम र रावण छुट्याउन सकिरहेका छैनन् । रडाको मचिएको छ । को ठीक भन्दा पनि को कम बेठीक भनेर खोज्नु पर्ने भएको छ । ठीक नभेटिए पछि बेठीकभित्र कम बेठीकको खोजी गर्नु भन्दा अरु उपाय नास्ती नै छ । तर यसको खोजी गर्ने पनि अर्कै छ । अख्तियारी अरुले नै पाएको छ ।

स्याबास् .......................
सहिदको सपना साकार होस् !
जनताको चहना पुरा होस् !
जनता भेडा होइनन् तर जनतालाई भेडा बनाउँछन् आफू गोठालो बनेर नेताहरु ! सोझा जनता भेउ पाउदैन् । खोला नभएको ठाउँमा पनि पुल हाल्छु भन्ने नेतालाई विश्वास गर्छन । नगरुन् पनि कसरी सबै त्यही भन्छन् । सबैले उही कुरा भनेपछि मान्ने कि नमान्ने ! अर्थात सबै उस्तै जोगी ! कान नचिरेका कोही फेला परेनन् । नत्र किन रडाको मच्चिन्थ्यो । त्यसैले त नेता ! "ने" माने नेपर्ने "ता" माने ताक खोज्नु । नेपर्ने लछारपाटो केही लाउने हैन, ताक मात्र खोज्ने अर्थात ताक परे तिवारी नत्र गोतामे । मैले बुझेको नेताको अर्थ यही हो ।

यस्तै भइरहेको अहिलेका नेताको नेतृत्व । हुन त आलोचना गर्न सजिलो छ समालोचना गर्न गाह्रो छ । तर आलोचना गर्ने ठाउँ दिएन भने समालोचना गर्न सजिलो हुन्छ ।
खै के भन्ने ! को राम्रो को नराम्रो को ? को असल को कमसल ? कान सबैका चिरिएका छन्, खरानी सबैले घसेका छन् । कुन जोगी असल ? त्यसैले कमसलभित्र असल खोज्नु बाहेक अर्को गुन्जायस छैन । रडाको उही रन्किएको रन्कियै राष्ट्रपतिको ! को, कुन दलको राष्ट्रपति ? त्यो नेपाली जनताको चाहनाभित्र छ तर अधिकारभित्र छैन । जनताको काम आन्दोलन गर्ने हो, सरकार र नेतृत्व छान्ने होइन । माफ गर्नु होला यस्तै भइरहेछ । त्यो कामको जिम्मा अरु कसैले लिएको छ ।

त्यो राष्ट्रपति उही हुन्छ जनताको चहना अनुरुप हुदैन, जनर्दनको चहना अनुरुप नै हुन्छ । खुलामञ्चमा जनतालाई जनर्दन भने पनि वास्तविक जर्नादन अर्कैछन् । स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्रका लागि सडकमा उत्रने बाहेकका भित्री निर्णायक अर्कै छन् । अर्कैले गरिआएको छ अहिले पनि गर्छ ।
दक्षीणदिशामा जर्नादनको बास छ सबैलाई उनैको आश छ । सबैको आशा र भरोसाका केन्द्र बनेका दक्षीणादेवको आसय, आदेश र अभिन्त्रणामा चलेको छ राष्ट्रपतिको तुफानी दौड । दक्षीणदेवको दैवीलीलाले खेला देखाएको छ नेपालमा । उनी सबैलाई मन्त्र प्रदान गर्छन तर कसैलाई बोक्सी मन्त्र कसैलाई झाँक्री मन्त्र । यही मन्त्र जपेर बोक्सी र झाँक्रीको खेल खेलाउँछन् ।

जनता अवाक् हेर्न विवश छन् । जनताको विवशताभित्र नेताको पदलोलुपता निर्लिप्त छ । दक्षिणादेव मूर्तभित्र अमूर्त छन् अनि अमूर्तभित्र मूर्त । उनको मूर्त वाँण पनि अचुक छ अमूर्त वााण पनि अचुक छ । जति बाँण चलाउँछन् त्यति पटाक्षेपहरु बदलिदै जान्छन् । राष्ट्रपति नाटकको पटाक्षेप जस्तै .... निरन्तर बदलिरहन्छ । थाह छैन आशिर्वाद कसलाई प्राप्त हुन्छ ।

आदि......इत्यादि..........!
र, उसको नाउँ ....
आदि ..... इत्यादि ........
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखका अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ
मेरो सुखमा
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु भित्रभित्रै
स्वागतद्वारमा विषकुम्भहरु भरेर
शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाँड्न
आदि ..... इत्यादि ........
असल मित्र हो
उ मेरो
आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर आउँछ अगाडि उही
तल्तिरबाट आगो सल्काउन
अगुल्टो झोसेको हुन्छ उसैले
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला खटाएको हुन्छ उसैले
घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले रामराम नारद बोल्छ
भित्रभित्रै छुरा चलाउँछ
सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
म उसलाई भरत देख्छु
तर उसको नाउँ भारत हो ।
आदि ..... इत्यादि ........
आदि ..... इत्यादि ........ !

मलाई हिन्दी सिनेमाका ख्यातिप्राप्त पूर्व नायक अभिताभ बच्चनले बनौटे नेपाली बोलीमा बोलिएको एउटा विज्ञापनको अति मन पर्छ - भन्न सजिलो गर्न गाह्रो रे !
हरेक कुरा भन्न सजिलो छ तर गर्न गाह्रो छ । सत्य पनि त्यही हो । हामीले जे भने पनि गर्न चाहीं उनकै इच्छा अनुसार गर्नु पर्छ । त्यसैले यो सन्देश हामीलाई दिएको हो जस्तो लाग्छ !

यो सन्देश मात्र हैन महामन्त्र हो जुन हाम्रा नेपाली संचारमाध्यम मार्फत हामीलाई सधैं श्रवणप्राप्ति भइरहेको छ । धन्य मित्र भारत !

शिव प्रकाश
(नेपाल जापानबाट)

Comments