सुस्ता फेरी आज मिचियो

भारतीयहरुको पटक पटकको अतिक्रमणबाट सिद्धिन लागेको नवलपरासी सुस्ताको करिब ५० बिघा जमिन फेरि अतिक्रमित भएको छ ।

भारतको बिहार राज्य रमपुरवाका मुखिया बिसुन देव र जलिस अन्सारीको नेतृत्वमा सयौंको संख्यामा आएका भारतीयहरुले सुस्ता गाविसको धनईया क्षेत्रको करिब ५० बिघा खेतीयोग्य जमिन आज फेरी अतिक्रमणमा परेको हो । 

उनीहरुले उक्त जमिनमा टेक्टर लगाएर खनजोत समेत गरेका छन् । २०६२ सालमा सीमा विवाद हुदा दुबै देशबीच अर्काको भूमि अतिक्रमण नगर्ने सहमति भएपछि उक्त क्षेत्र हालसम्म सुरक्षित हुदै आएको थियो । नेपालमा राजनीतिक तरलताको फाइदा उठाउदै भारतीयहरुले दुइ साताअघि मात्र सुस्ताको ४० बिघा खेतीयोग्य जमिन अतिक्रमण गरेका थिए भने त्यसअघि पटकपटक गरी करिब १४ हजार हेक्टर जमिन अतिक्रमण गरी कब्जा गरेका छन् । 

नेपाली भूमि यसरी अतिक्रमण र कब्जा भैरहदा समेत नेपाल सरकारले ठोस पहल गरेर नेपाली भूमि फिर्ता गराउन नसकेकोमा सुस्ताबासीहरु सरकारप्रति आक्रोशित छन् भने नेपाल सरकारको लाचारीपनको फाइदा भारतीयहरुले उठाउदै आएका छन् । 

यसैबीच गण्डक नहरको पानी बन्द गरेर नेपाली किसानहरुले एक महिनादेखि जारी राखेको आन्दोलनका कारण रोपाई गर्न नपाएर रुष्ट बनेका भारतीयहरुले नेपालीमाथि भारतसंग जोडिएका ठुटीबारी,भैसालोटन,लगायतका नाकामा ज्यादती गरिरहेका छन् । भारतीयहरुले नेपालीलाई आवतजावत गर्न,किनमेल र बजार गर्नबाट बञ्चित गराउनुका साथै कुटपिट समेत गर्न थालेको स्थानीय नेपालीहरुले गुनासो गरेका छन् ।

Comments