हेलिकोप्टर दुर्घटना

फिस्टेल एयरको नाइन एनएआइए नामको एस्कुरेल हेलिकोप्टर आइतबार कास्की र मनाङको सिमाना अन्नपूर्ण बेस क्याम्पमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन ।
सो हेलिकोप्टर बेसक्यापमा रहेका विदेशी पर्यटकको उद्धारका लागि काठमाडौंबाट आइतबार बिहान उडेको थियो । उडान भरेर र्फकने क्रममा अन्नपूर्ण बेसक्याम्प साउथमा बिहान १०ः४५ बजे दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा रहेका पाइलट सविन बस्नेत र तीन विदेशी यात्रु सकुशल रहेको पोखरा विमानस्थलले जानकारी दिएको छ । मौसमको खराबीका कारण क्याम्पमा अवतरण गर्न नसकी फर्किएको सो हेलिकोप्टर पुनः कास्कीको छोम्रोङ गाउँमा अवतरण गरी दोस्रोपटक पर्यटक लिन जाँदा दुर्घटनामा परेको हो ।
बिहान दुर्घटना भए पनि दिउँसो दुई बजेमात्रै पोखरा विमानस्थललाई स्थानीयबासीले जानकारी गराएपछि काठमाडौं खबर गरिएको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।
चालकसहित पर्यटकको उद्धार गर्न गएको नेपाली सेनाका दुईवटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण हुन नसकेपछि साँझ पोखरा फर्केका छन् । सोमबार बिहान पुनः उद्धारका लागि जाने पोखरा विमानस्थलले जानकारी दिएको छ ।
हेलिकोप्टरको पुच्छरमा खराबी आएपछि पाइलटले तत्कालै नजिकको झन्डै पाँच फिट गहिरो सानो पोखरीमा अवतरण गराएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पोखरा विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनामा सबै यात्रु सकुशल रहेकोमा खुसीयालीसमेत मनाइएको छोम्रोङबाट दीपक गुरुङले जानकारी दिए । दुर्घटना भएपछि स्थानीय होटलमा काम गर्ने प्रकाश थापामगर खबर गर्नका लागि छोम्रोङ आएका थिए ।

(नयाँ पत्रिकाबाट)

Comments