शरणार्थी शिविरमा विबाहको चाप

भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्वास गर्न शुरु गरेपछि शरणार्थी शिविरमा विबाह गर्नेहरुको संख्या एकाएक बढ्न थालेको छ ।
 शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्वास गराउने जिम्मा लिएको संस्था आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संस्था (आइ ओ एम)ले आफ्नो कार्य शुरु गरेपछि विवाह गर्नेहरुको संख्या ७० प्रतिशतले बढेर गएको छ । बेलडाँगी २ स्थित भूटानी शरणार्थी शिविर व्यस्थापन समितिका सचिव नारदमणी सन्यासीले दिएको जानकारी अनुसार १ हप्ता भित्रमा १० देखि २० जना सम्मले विवाह दर्ता गर्ने गरेका छन् । 
 विवाह गर्न उमेर पुगेका अधिकांशहरुलाई विवाह गरेर जाँदा राम्रो हुने सल्लाह दिने भएकाले यो क्रम बढेर गएको हो । झापा र मोरङमा रहेका सातै वटा शिविरमा यो क्रम बढेर गएको छ । जसले गर्दा नौ दश कक्षामा अध्ययनरत युवायुवतीहरु विवाह गर्न उत्साहित रहेका पाइन्छ । विगतको तथ्याङ्कलाइ हेर्दा जन्मदर्ता भन्दा विवाह दर्ता एक्कासि बढेर गएको छ । 
 उमेर कलिलो देखिने केटाकेटीहरु समेत विवाह दर्ताका लागि आउने गरेका छन् । यसरी विवाह दर्ता गर्न आउने केहीले औपचारीक रुपमा विवाह नगरेको भए पनि दर्ता भने गर्ने गरेका छन् । पुनर्वासले गर्दा शिविरमा विवाह गर्ने लहर नै चलेको छ । अन्तवार्तामा विवाह गर्न उमेर पुगेकाहरुलाई जानु पूर्व नै विवाह गर्न प्रेरीत गर्ने गरेका छन् । त्यस्तै पुनर्वासको क्रममा चिनजान भएका र जानकार मान्छे को कहाँ पुग्ने हो भन्ने टुंगो नभएका कारण पनि विवाह गरे सँगै जान पाउने इच्छाले पनि यो क्रम बढेको हो । शिविरमा दैनिक जसो विद्यालय पढ्दै गरेका विद्यार्थीहरु समेत विवाह गरेर पढ्न छोडेको घटना समेत बढ्न थालेको छ ।

Comments