झापा र मोरङ जिविसद्वारा बजेट सार्वजनिक

जिल्ला विकास समिति मोरङ ले आर्थिक वर्ष २०६५/६६ का लागि दुई अर्ब दुई करोड १२ लाख २३ हजार अनुमानित बजेट प्रस्ताव गरेको छ। सोमबार विराटनगरमा आयोजित १७ औं जिल्ला परिषद्को बैठकमा अनुमानित बजेट प्रस्तुत गरिएको हो। जिविस प्रमुख प्रेमप्रकाश उप्रेतीले कुल बजेटमध्ये विषयगत कार्यालयतर्फ ९३ प्रतिशत अर्थात् एक अर्ब ८८ करोड आठ लाख ९८ हजार, संघसंस्थाहरूतर्फ छ दशमलव ९४ प्रतिशत अर्थात् १४ करोड बजेट प्रस्तावित गरेको बताए। जिविस, जिल्लास्थित विषयगत कार्यालय र संघसंस्थाहरूको बजेटसमेत जिविसले कुल बजेटमा समावेश गरेको छ। कुल बजेटमध्ये जिविस मोरङ ले २५ करोड ६८ लाख ९७ हजार आफ्नै स्रोत जुटाउने लक्ष्य लिएको छ। सो रकम आन्तरिक स्रोत, जिविस केन्द्रीय अनुदान तथा अन्य संघसंस्थाबाट प्राप्त हुने आशा राखेको छ। बजेट प्रस्तुत गर्दै जिविस मोरङ का प्रमुख उप्रेतीले जिविसको कर, दस्तुर सेवाशुल्क तथा राजस्व बाँडफाँटबाट १० करोड ४४ लाख, जिविस अनुदान पुँजीगततर्फ ४१ लाख ४८ हजार, जिविस सञ्चालन अनुदानतर्फ एक करोड ३७ लाख, कृषि तथा स्थानीयस्तरका सडक आयोजनातर्फ एक करोड ३९ लाख, ग्रामीण खानेपानी तथा सरसफाइतर्फ ५३ लाख, गाविस सञ्चालन अनुदानतर्फ एक करोड ३० लाख, पुँजीगत अनुदानतर्फ पाँच करोड २० लाख, सामाजिक सुरक्षा कार्यक्रमतर्फ तीन करोड सात लाख, स्थानीय विकास कोषतर्फ एक करोड १६ लाख प्राप्त हुने बताए। झापा समाचारदाताका अनुसार जिल्ला विकास समिति झापाले पनि आर्थिक वर्ष २०६५/६६ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार आयोजित १६ औं जिल्ला परिषद् बैठकमा सार्वजनिक गरिएको बजेटमा विकास अनुदानसमेत गरी कुल ७१ करोड ४७ लाख ९० हजार दुई सय १८ रूपैयाँ रहेको छ। सार्वजनिक गरिएको कुल ७१ करोड ४७ लाख ९० हजार दुई सय १८ रूपैयाँमा केन्द्रबाट प्रदान गरिने जिविस अनुदान विकास अनुदान, खानेपानी, सडक, कृषि, सामाजिक, सुरक्षा स्थानीय विकास कोष, भारतीय दूतावासबाट सञ्चालित योजनाको रकम, तीन नगरपालिका ४७ गाविस बजेट समावेश गरिएको छ। झापा जिविसको आन्तरिक कुल सात करोड २१ लाख ७० हजार अनुदान गरिएको समारोहमा वितरित बजेट पुस्तिकामा उल्लेख छ।

Comments