बालकका घाँटीमा सर्प

सुन्दा अचम्म लाग्न सक्छ तर ताप्लेजुङमा चार दिनदेखि एक बालकलाई सर्पले बेरेर उम्कन दिएको छैन। करिब छ केजी तौल भएको सर्पले घाँटीमा फनफनी बेरेर बालकलाई नछोडेपछि शिव भगवान्को उत्पत्ति भएको भन्दै धूपअक्षता र फूलपाती बोकेर दर्शन गर्न आउने मानिसको भीड लागेको छ। फुङलिङ ४ निवासी १४ वर्षीय लासिहाङ थेवेलाई सर्पले बेरेर उम्कन नदिएको हो। चार दिनअघि सोही गाविसको मालबासे भन्ने ठाउँमा आँप खान गएका उनलाई घर फर्कंदै गर्दा निगिजुङमा सर्पले बेरेको थियो। सर्पले खुट्टाबाट बेर्न सुरू गरेपछि आत्तिएर चिच्याउँदा पनि नटोकेको लासिहाङले बताए। उनले भने, 'सँगैका साथी डराएर भागे। सर्पले टोक्छ कि भनेर डराउँदै मुख समात्न खोजेको चट्याङ परेर पानी दक्र्यो अनि केही गरिन।' त्यसपछि उनी सर्पसहित नै घर पुगे। यो खबर सुनेपछि साक्षात् शिव भगवान्को उत्पत्ति भएको भन्दै आफ्नो घरमा दैनिक करिब पाँच हजार मानिस आउने गरेको लासिहाङका बुबा हस्तबहादुर थेवेलेे बताए। सर्पले घाँटीमा बेरेर शिरतिर टाउको फर्काउने अनि बालकलाई चाट्ने तर नटोक्ने गरेको देख्दा दर्शन गर्न आउने मानिस पनि अचम्मित भएका छन्। सुनसरीको धरानबाट नातिको साथ लागेर आएकी ७१ वर्षीया जमुना पौडेलले भनिन्, 'कुरा सुन्दा अचम्म लाग्यो र आएकी, यो उमेरमा साक्षात शिव भगवान्को दर्शन पाएको अनुभव भयो।' सर्पले चार दिनदेखि गाईको दूधमात्रै खाँदै आएको छ। दर्शन गर्न आउने मानिसले चढाउन ल्याएको गाईको दूध सर्पलाई खुवाउने गरेको र आफूले पनि फलफूल र दूधमात्र खाने गरेको लासिहाङले बताए।

Comments