सिंहदरबार प्रवेश गर्न कम्प्युटर सञ्जालको प्रस्ताव

सिंहदरबारभित्र सर्वसाधारण जनताको प्रवेशका लागि कम्प्युटर सञ्जालको व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ। वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले हाल प्रवेशसम्बन्धी अपनाइएको व्यवस्थामा परिवर्तन गरी सञ्जालमार्फत प्रवेशको व्यवस्था मिलाउन प्रस्ताव गरेको हो। प्रस्तावित सञ्जालअन्तर्गत सिंहदरबार प्रवेश गर्न कम्प्युटरबाट नाम स्वीकृत गरी अनुमति दिने व्यवस्था मिलाइनेछ। केन्द्रका कार्यकारी निर्देशक डा. सुवर्ण शाक्यका अनुसार प्रस्तावित सञ्जालको व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारण जनताको प्रवेशका लागि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिध्ािले स्वीकृत गरेको प्रवेश पास बोक्न आवश्‍यक पर्नेछैन। उनले सम्बन्धित मन्त्रालय वा निकायले पास उपलब्ध गराइने व्यक्तिका बारेमा कम्प्युटरमार्फत सम्पूर्ण जानकारी प्रवेशद्वारमा भएका सुरक्षाकर्मीलाई गराएर आगन्तुकलाई भित्र पठाउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको बताए। सोही जानकारीका आधारमा नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र सुरक्षाकर्मीलाई बुझाएर आगन्तुकले भित्र प्रवेश पाउनेछन्। कम्प्युटर सञ्जाल सिंहदरबारभित्रका कार्यालय र प्रवेशद्वारमा मात्रै सीमित रहनेछ। सम्बन्धित कार्यालयबाट आगन्तुकका बारेमा पठाएको विवरण मिलेपछि मात्रै प्रवेश दिइनेछ। 'भित्र प्रवेश गर्ने व्यक्तिका बारेमा सम्पूर्ण विवरण कम्प्युटरमा राखिएको हुन्छ, जसले केही घटना भएको अवस्थामा पनि छानबिनका लागि सहयोग पुर्‍याउँछ', डा. शाक्यले भने। कम्प्युटर सञ्जालमा सिंहदरबारभित्र प्रवेश गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नम्बर, भेट्न जाने व्यक्ति र कामको विवरण राखिनेछ। नयाँ सञ्जाल लागू भएपछि सिंहदरबारभित्रको सुरक्षा-व्यवस्थासमेत बलियो हुने दाबी सम्बन्धित अधिकारीको छ। गृह मन्त्रालयका उपसचिव लेखनाथ पोखरेलले भने, 'कम्प्युटरमा सबै विवरण राखिने भएका कारण सुरक्षाव्यवस्थाका दृष्टिकोणबाट समेत नयाँ व्यवस्था राम्रो देखिन्छ।' यससम्बन्धमा केन्द्रले विभिन्न सुरक्षानिकाय तथा सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल सुुरू गरिसकेको छ। हाल सिंहदरबारमा कामका लागि जान चाहने व्यक्तिले पहिला सम्बन्धित मन्त्रायबाट नाम स्वीकृत गराउनुपर्छ। त्यसपछि मन्त्रालयले सम्बन्धित व्यक्तिलाई कर्मचारीमार्फत प्रवेशद्वारमा पास उपलब्ध गराउँछ। यसरी उपलब्ध गराइएको पास लिएर मात्र भित्र जान पाइन्छ।

Comments