लक्ष्मी बैंकबाट लुटिएको रकम बरामद

एक महिनाअघि झापाको दमकस्थित लक्ष्मी बैंकको शाखाबाट लुटिएको रकममध्ये १३ लाख ९८ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दमकका प्रमुख गोविन्दराज काफ्लेको नेतृत्वको प्रहरीटोलीले शुक्रबार मोरङ बयरबन- ८ स्थित मानबहादुर बोहरा र कुमार रसाइलीको घरबाट उक्त रकम बरामद गरेको हो। बोहराकोबाट ११ लाख ४८ हजार रूपैयाँ र रसाइलीकोबाट दुई लाख ५० हजार रूपैयाँ बरामद भएको काफ्लेले जानकारी दिए। घटनामा संलग्नहरू फेला पर्न नसकेको बताइए पनि प्रहरीले अनुसन्धानमा बाधा पुग्ने जनाउँदै केही खुलाएको छैन। यसअघि बैंक लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले मोरङ शनिश्‍चरेस्थित भुटानी शरणार्थी शिविरका हर्कसिंह राई, धनवीर गुरूङ र लक्षुमान गुरूङलाई पक्राउ गरिसकेको छ। उनीहरूका साथबाट सात लाख ९० हजार रूपैयाँ बरामद भएको थियो। बैंकमा पसेका नकाबधारीले ७८ लाख ९० हजार दुई रूपैयाँ लुटेका थिए। घटनाको मुख्य योजनाकार मोरङ बयरवनका भीम सुब्बा भने फरार रहेको प्रहरीले बताउँदै आएको छ।

Comments