बीर बालक कमललाई राजधानीमा भ्याईनभ्याई



सेती नदीको खोचमा खसेकी बालिकालाई उद्वार गरेर चर्चामा आएका कमल नेपालीलाई राजधानीमा सम्मान ग्रहण गर्न भ्याईनभ्याई छ ।

साहसको कदर गरेर राजधानीवासीले बोलाएपछि बिहीबार उनी बुबा र दाइको साथमा पोखराबाट हवाईजहाजमा राजधानी आएका थिए । राजधानी आइपुगेपछि १२ वर्षिय कमललाई सम्मान गर्नेको संख्या बढ्दै गएको छ ।
अपाराह्न तीन बजे विमानस्थल आइपुगेका उनीहरू राजधानीको पांचतारे होटेल याक एन्ड यतिमा बसेका छन् ।

कमलले शुक्रबार बिहान ११ बजे दशरथ रंगशालामा बास्केटबल प्रतियोगिता उदघाटन पनि गरेका थिए । यसपछि सगरमाथा टेलिभिजनले आयोजना गरेको र्‍यालीमा उनी प्रमुख आकर्षणबने । टाटा मोबाइलमा राखेर उनलाई अनामनगर, माइतीघर, न्युरोड हुंदै प्रदर्शनीमार्गस्थित पर्यटनबोर्ड पुर्‍याइएको थियो ।

सम्मान कार्यक्रममा पुगेपछि उनीसंग हात मिलाउनेको घुइंचो लागेको थियो । उनलाई मितेरी अस्पतालले आजीवन उपचार गरिदिने घोषणा गरेको छ । रमपम तयारी चाउचाउले यस वर्षेदेखि 'रमपम ब्रेभरी अवार्ड' स्थापना गरेर पहिलो वर्षको अवार्ड कमललाई दिने घोषणा गरेको छ ।

कमल र उनका आफ़न्त आज पोखरा फर्किने योजनामा छन । फ़र्कनु अघि उनी विभिन्न स्थानका सम्मान कार्यक्रममा सहभागी हुने भएका छ्न् । उनलाई यस वर्षको 'वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार' पनि प्रदान गरिने भएको छ । जीवन जोखिममा राखेर बालिकाको उद्वार गरेकोले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार कोषकी अध्यक्ष रीतासिंह वैद्यले विज्ञप्तिमार्फत जनाएकी छिन् । कोषले कमललाई 'वर्षको बालक' उपाधिसमेत दिएको छ । २५ हजार रुपैयांसहितको उक्त पुरस्कार आगामी चैत २६ गते प्रदान गरिने भएको छ ।

Comments