भूटान - जनआन्दोलनको आव्हान



भुटानी राजनीतिक दलहरूको मोर्चाबन्द संगठन एनएफडीले भुटानभित्र चरणबद्ध जनआन्दोलनका लागि देशबासीमा आह्वान गरेको छ । 
एनएफडीका सभापति बलराम पौडेलद्वारा हस्ताक्षरित पर्चारुपी अपिल शुक्रबारदेखि भूटानभित्र र्छर्दै भुटानमा वास्तविक प्रजातन्त्र वहालीका लागि आम भूटानीहरू एकजुट भएर आन्दोलन थाल्न आह्वान गरिएको छ ।
हालै सम्पन्न भुटानको संसदीय निर्वाचनलाई तथाकथित निर्वाचनको संज्ञा दिंदै त्यस्तो निर्वाचनलाई एनएफडीले मान्यता नदिने जनाइएको छ । अपिलमा भनिएको छ- "यस्तो नाटकीय प्रजातन्त्र दुनियाँमा कहाँ छ ? यसले प्रजातन्त्रको खिल्ली उढाएको छ, प्रजातन्त्रको नाममा भयानक षड्यन्त्र हुँदैछ।" 
नेपाल र भूटानलाई स्वदेश फिर्ती लगायतका समस्याका बारेमा पटक-पटक अपिल गर्दा पनि कुनै सुनुवाई नभएपछि जनआन्दोलनको विकल्प नभएको अपिलमा उल्लेख गरिएको छ।
अपिलमा पुस्तौंदेखि प्रतीक्षारथ प्रजातन्त्रवहालीका निम्ति सम्पूर्ण भूटानीहरू तन, मन र धनले एक जुट भई एक युगान्तकारी परिवर्तनमा अग्रसर बन्न ऐतिहासिक जन-आन्दोलनमा सामेल हुन भनिएको छ। तर, कहिलेदेखि कस्तो प्रकारको आन्दोलन थालिने भन्ने बारेमा भने अपिलमा उल्लेख गरिएको छैन ।
१८ वर्षघि भुटानी शासकबाट लखेटिएर नेपाली भूमिमा शरणार्थी जीवन बिताउँदै आएका १ लाख बढी भुटानी नागरिकहरूको स्वदेश फिर्तीको अभियान एनएफडीले आह्वान गरेको जनआन्दोलनसँगै जोडेर अघि बढाइने एनफएडी सभापति पौडेलले उल्लेख गरेका छन्।
झापामा र मोरङ्गका सात वटा शिविरमा रहेका भुटानी शरणार्थीहरूलाई समेत घरघरमा अपिल बाँडी जनआन्दोलनमा जुट्न आह्वान गरिएको छ।


Comments