चन्द्रशेखरलाई 'मृत्युदण्ड' सदर

एक इन्डोनेशियन युवतीलाई मारेको अभियोगमा दुइ बर्षअघि तल्लो अदालतद्वारा मृत्युदण्ड सुनाइएका नेपाली नागरिक चन्द्रशेखर यादवको सजायलाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । 


२००३ को अक्टोबरमा भएको एक घटनामा एक इन्डोनिशयन युवतीलाई बलात्कारपछि हत्या गरिएको अभियोगमा चन्द्रशेखरसहित भारतीय ओनिकृष्ण मुधा र मसगलत सिदरनलाई तल्लो अदालतले दुइ बर्षअघि मृत्युदण्ड सजाय सुनाएको थियो । हिजो बुधबार दिउ“सो पुनरावेदन अदालतले सुनाएको फैसलामा हत्या अभियोगमा परेका नेपाली चन्द्रशेखरसहित अरु दुइ भारतीय नागरिकसमेतलाई मृत्युदण्ड दिने निर्णय भएको हो ।


एउटै अभियोगमा पक्राउ परेका अर्का नेपाली बुद्धिमान गुरुङ भने जेलसजाय भुक्तान गरेर घर फिरिसकेका छन् । तल्लो अदालतले मृत्युदण्ड फैसला सुनाएपछि यो मुद्धालाई पुनरावेदनमा अन्तिम फैसलाका लागि लगिएको थियो । पुनरावेदनपछि नेपाली दुतावासले पनि कतारी मुलकी वकिल मोना अब्देल रहिमलाई यो मुद्धा हेर्न नियुक्त गरेको थियो । 'अब हामी यो मुद्धालाई सर्वोच्च अदालतमा लैजानेछौं,'नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले भने-'चन्द्रशेखरको जीवनरक्षामा अन्तिम चरणसम्मै लागीपर्नेछौं, आशा मरिगएको छैन ।' 
सिरहा, बेलाहा-७ निवासी चन्द्रशेखरलाई तल्लो अदालतले मृत्युदण्ड दिने फैसला सुनाएपछि गठित 'चन्द्रशेखर बचाउ सहयोग समिति'ले कतारस्थित स्थानीय नेपाली समुदायबाट उनका नाममा झण्डै ३० हजार रियाल संकलन उठाइसकेको छ । यसमध्ये १५ हजार रियाल वकिलका लागि खर्च भएको छ भने बा“की भने अबको प्रकृया तथा अन्तिम निर्णयपछि 'तजबिजअनुसार खर्च गरिने' निर्णय दुतावासले गरिसकेको छ । 
 
  

Comments