सहमतिपछि देशभरको यातायात सुचारु

 पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि अनुसार सवारी भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रेका यातायात ब्यबसायी र सरकारबीच सहमति भएको छ । 

हिजो अबेर राति सम्पन्न सरकार र यातायात ब्यबसायीबीचको वार्तामा लामो र मध्यम दुरीका सवारीमा २८ प्रतिशतले भाडाबृद्धि गर्ने सहमति भएपछि यातायात ब्यबसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

राति करिब ३ बजे सम्पन्न वार्तामा उपत्यका भित्रका मिनी बस र माइक्रो बसको न्युनतम भाडा १२ रुपैयाँ र ट्याक्सीमा सुरुमा देखिने भाडा दर १० रुपैयाँ राख्ने सहमति भएको छ । 

यसअघि सरकारले सवारी भाडामा २५ प्रतिशले मात्र थप गरी लिन पाउने निर्णय गरेको थियो । सरकारले बढाएको उक्त भाडा कम भएको भन्दै ब्यबसायीहरुले अनिश्चितकालिन यातायात बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका थिए । 

यो भाडा दर दुइ महिनाका लागि मात्र कायम गरिएको छ । दुइ महिनापछि बैज्ञानिक आधारमा नयाँ भाडादर कायम गरिने वार्तामा सहभागी यातायात ब्यबसायीले बताएका छन् ।

बिद्यार्थीलाइ दिइएको छुटमा दुरुपयोग रोक्न ब्यबसायी, सरकार र बिद्यार्थी सम्मिलित संयन्त्र बनाएर तत्कालै काम थाल्ने पनि सहमति भएको छ । 

ब्यबसायीको आन्दोलन फिर्तापछि आज बिहानैदेखि राजधानीका सडकमा चहलपहल सुरु भएको छ भने देशभरको यातायात सुचारु भएको छ । 

Comments