मरेको मान्छे

लम्पसार तेर्सिएको मानिसछेउ मुन्टो झुकाएर बसेको कुकुर घरिघरि पल्याक पुलुक दायाँबायाँ हेर्दै थियो। आँखा चिमचिम गर्दै कुइँकुइँ कराएको आवाज सुन्ने कोही थिएन। रातको बेला आवतजावन कमै थियो ।
उत्तरतिरबाट दुइ-तीनवटा बलेरो गाडी आइपुग्यो। लम्पसार मान्छेलाई देखेर अघिल्लो गाडीसँगै सबै रोकिए। । हतियारसहितका एक हुल मानिस गाडीबाट ओर्लिएको देखेर कुकुर अलि तर्सियो, तर उठेन । हुलको अघिअघि हिँड्ने मोटोघाटे अधवैशेले तेर्सिएको मानिसलाई हेर्दै आफ्ना साथीहरूलाई भन्यो "हैन साथी
हो, यो मानिसको सम्बन्ध हाम्रो पाटीसँग त छैन- तुरुन्तै बुझ्नु पर्यो।"
नेताले बेलाबेलामा आफू अत्यन्त भावुक व्यक्ति भएको बखान्दै आएको थियो। यहाँ पनि उ आफ्नो भावुकता पर्दशन गर्न चुकेन "सामन्ती र अर्धसामन्धी व्यवस्थामा यस्ता कयौँ व्यक्ति लावारिस भएर बस्नु परेको छ।"उसले भावुकतामा वजन थप्न आफ्नो आँखा पुछेजस्तो गर्यो। आफ्नो नेताको आदेश सुन्नासाथ
उसका साथीहरू सक्रिय भए। केही कतै लागे, कोही कता। केही मोबाइल चलाउन थाले। नेताले भन्यो" अरु पाटीका मानिसलाई दो षी ठहराउँदै नारा जुलुसकासाथ सद्गत गरिदिनु पाए गजप' फाइदा हुन्थ्यो। अस्ति भर्खर हाम्रा साथीले जाबो एकजनालाई कुटेर मार्दा कति साह्रो हल्ला गरेका अरु पार्टी मान्छेले -कति
हामीलेमात्रै हत्याराको आरेाप खप्ने -" केही बेरमै उसका सबै साथी जम्मा भए। एउटाले भन्यो"हाम्रो पार्टीसँग सम्बन्ध छैन रे छ।" अर्काले भन्यो"हेडक्वाटरका नेताहरुले उल्टै फसिने हो कि भनेर शङ्का
व्यक्त गरे।" अधवैँशेले मुन्टो हल्लायो। उनीहरू बाटो लागेको कुकुर हेरेर बस्यो। गाडीले मोड काटेपछि फेरि मुन्टो झुकायो। केहीबेरमै दक्षीणतिरबाट फेटा गुथेका मानिसहरूको अर्को हुल आइपुग्यो।
मुसुक्क हाँस्दै कालो कालो मोटो भुँडिवालले पानको पिक प्याच्च थुक्दै आफ्ना साथीलाई भन्यो" अपने लोग है कि दुसरा है - देखिए तो। अपना होगा तो इसिके नाम पे तहलका मचा देते।"
उनीहरूमध्ये एकले जबाफ दियो"चमडीसे तो पता चलाना मुश्किल है। गोरी चमडीके चलते अपना ही आदमीको एक बार लुढका दिया था"। नेताले भन्यो"तो चलिए।"
मध्यरातसम्म कयौँ समूह त्याहाँ आइपुग्यो। कसैले भने-यसको नाक चुच्चो छ। त्यसैले यो अरु नै हो। 
कसैले भने-यसको आँखा चिम्सो छैन। कसैले छाला गहुँ गोरो देखे भने कसैले कालो।
सबै आ-आफ्नो बाटो लागे। कुकुर रातभरि रोइरह्यो।

(प्राचीबाट)

Comments