किताब किन्न गएका विधार्थी कुटिए, बिर्तामोडमा तनाव

पसलमा पाठ्यपुस्तक खरिद गर्न गएका विधार्थीमाथि हातपात भएपछि झापाको बिर्तामोड आइतबार दिनभर तनावग्रस्त रहेको छ। स्थानीय देवी माध्यमिक विधालयका विधार्थी र भद्रपुररोडस्थित युनिस पुस्तक पसलका सञ्चालकबीच विवाद भएपछि विधार्थीमाथि हातपात भएको थियो। पाठ्यपुस्तक खरिद गर्न गएका विधार्थीले आफूहरूमाथि उक्त पुस्तकपसलका सञ्चालकले कुटपिट गरेको बताए। विधालयका कक्षा नौ र १० मा पढ्ने २०-२५ जना विधार्थी उक्त पुस्तक पसलमा पाठ्यपुस्तक किन्न गएका थिए। विधालयका प्रधानाध्यापक लेखनाथ भट्टराईका अनुसार ती विधार्थी किताब किन्न भनी विधालयबाट बिदा लिएर गएका थिए। पुस्तकपसलका सञ्चालकसँग झगडा भई विधार्थी कुटिएपछि आफू घटनास्थलमा पुगेको र उक्त पसल बन्द गर्न लगाई विधार्थीलाई त्यहाँबाट फर्काएको उनले बताए। भट्टराईले झगडामा कक्षा १० का सुधिर महम्मद र जनकुमार लावती घाइते भएको जानकारी दिए। घटनापछि आक्रोशित विधार्थीले यातायात ठप्प पारी बिर्तामोडका सबै पसल बन्द गराएका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायबनिरीक्षक रामकुमार कार्कीले सुरक्षाका कारण उक्त पुस्तक पसलका सञ्चालक राजकुमार श्रेष्ठ र उनका छोरा विकास श्रेष्ठलाई प्रहरी कार्यालयमा ल्याएर राखिएको बताए। यसैबीच आवश्‍यकताअनुसारका पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै पुस्तक व्यवसायीले राजविराजस्थित साझा प्रकाशनको शाखा कार्यालयमा आइतबार तालाबन्दी गरेका छन्। कक्षा ३, ९ र १० का पाठ्यपुस्तक नपाइएपछि व्यवसायीले उक्त कार्यालयमा तालाबन्दी गरेका हुन्।

Comments