झापामा अपराधिक घटना वृद्धि

संविधासभाको चुनाव सम्पन्न भएयता झापाको दमकमा अपराधिक घटना वृद्धि भएका छन् ।

झापाको सुरक्षित स्थान भनेर मानिने दमक आजभोली अपराधीको अखडा वन्न थालेको छ ।

घटनाका श्रृंखलालाइ हेर्ने हो भने यसवीचमा हत्या, लुटपाट र डकैती दैनिकजसो भइरहेका छन् ।

गत बैशाख ७ गते झापाको दमकमा एक व्यक्तिको दिनदहाडै हत्या भएको थियो । इलामको चुलाचुली ५ का पच्चीस बर्षीया विर्खबहादुर सुब्बामाथि १०-१५ जनाको समुहमा आएका हतियारधारीहरुले रतुवा पुल नजीकबाट खुकुरी प्रहार गरी हत्या गरेका थिए । पेटमा गहिरो चोट लागेका उनको उपचारका क्रममा मृत्यू भएको थियो ।

यसैगरी बैशाख ६ गते भूटानी शरणार्थी शिविर बेलडागी २ बस्ने २५ बर्षीया धनसिं मगरको छुरा प्रहार गरी दिउासै हत्या गरिएको छ । शरणार्थी युवा मगरको हत्या बेलडाँगी २ र ३ को बीचमा पर्ने खेलमैदानमा भएको थियो । दुवै अपराधमा साग्लग्नको पत्ता लगाउन प्रहरी प्रशासन असक्षम रहेको स्थानीय वासीको आरोप छ । दिनदहाडै यसरी आपराधिक गतिविधि बढ्नुलाई निकै महत्वपूर्ण ढङ्गले हेरिएको छ । इलाका प्रहरी कार्यालय दमकदेखि लिम्बूको हत्या गरिएको ठाउँ ३ सय मिटरको दुरीमा रहेको छ भने मगरको भने शसस्त्र प्रहरीको बेसक्याम्प नजिकैबाट हत्या गरिएको हो ।

बैशाख २ मा दमक ११ मा रहेको राष्ट्रिय बाणिज्य बैकबाट पैसा निकालेर जाँदै गरेको क्षणभरमा दमक नगरपालिकाका कर्मचारी लक्ष्मी बरालको साथबाट ७ हजार रुपैया लुटिएको छ । गत बैशाख २२ गते अर्थात हिजो झापाको दमकमा रहेका लक्ष्मी बैकको शाखाबाट ७९ लाख रुपैया नाटकीय शैलीमा लुटिएको छ । करिब १५ मिनेटमा लुटपाट मच्चाएर हिंडेको उक्त आपराधिक समुह गईसकेको आधा घण्टा पछि मात्र प्रहरी पुगेको थियो । मुख्य चोकमा अवस्थित उक्त बैक प्रहरी कार्यालयबाट २ मिनेटको दुरीमा पुग्न सकिन्छ ।

प्रहरीको लापरबाहीका कारण आपराधिक घटनाले प्रश्रय पाइरहेको स्थानीयवासी आरोप लगाउँछन । तर दमक प्रहरी प्रमुख गोविन्द काफ्ले अपराधी पत्ता लगाउन आफू सकेसम्म प्रयास गरिरहेको र सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउँछन् ।

(अनलाइन खवर)

Comments