इटहरी हत्याकाण्डमा डिआइजीदेखि प्रहरी निरिक्षक सम्मको संलग्नता

इटहरीमा करिब डेढ महिनाअघि भएको अग्रवाल दम्पती हत्याकाण्डमा डिआइजीदेखि प्रहरी निरिक्षकसम्मको संलग्नता भएको दावी विभिन्न क्षेत्रका व्यक्तिहरुले गरेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रविन्द्रप्रताप शाहदेखि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक विश्वमणि पोखरेल सहित सबै प्रहरी अधिकृतहरुको संलग्न रहेको दावी गर्दै सुनसरी भरिका उद्योगी,व्यापारी,अग्रवाल परिवार र नागरिक समाजका प्रतिनिधिहरुले उनिहरुमाथि कार्वाहीको माग गरेकाछन् ।

इटहरीमा भएको सर्वपक्षिय छलफलमा सहभागीले दुई महिना अघि भएको हत्याको छानविनमा प्रहरीले चासो नदेखाएको र बारम्बार घटनाका बारेमा सोध्दा व्यापारीहरुलाई कुनै जानकारी नदिने तथा अग्रवालका परिवारलाई पनि प्रहरीहरुबाट नै विभिन्न प्रकारका धम्की आउन थालेपछि व्यापारीहरुले सो माग गरेका हुन् ।

सर्वपक्षिय छलफलबाट नागरिक समाज, व्यापारी व्यावसायी सहितको भेलाले पूर्वाञ्चलका डिआइजी रविन्द्रप्रताप शाह,कोशीका प्रहरी प्रमुख वीरेन्द्रबाबु श्रेष्ठ,प्रहरी प्रधान कार्यालयबाट खटिएका वरिष्ठ प्रहरी उपरिक्षक भक्तिनाथ माझी,ल्याव टेक्निसियन प्रभाकर साह, सुनसरीका प्रहरी उपरिक्षक यादवराज खनाल र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक विश्वमणि पोखरेललाई विभागिय कार्वाहीको माग गृह मन्त्रालयसाग गरेको छ ।

आरती स्टि्रप्सका अधिकृत विक्रेता समेत रहेका कैलाशचन्द्र अग्रवाल र कान्ता अग्रवाल हत्या योजना प्रहरीको संलग्नता विना सम्भव नभएको ठहर गर्दै सो छलफलबाट प्रहरीविरुद्ध खेद प्रस्ताव समेत पारित गरेको छ ।

' उधोग वाणिज्य संघ सुनसरीका वाणिज्य सचिव गिरीधारी सापकोटाले भन्नुभयो,'हामीले १५ दिन अघि तय गरेको कार्यक्रममा सवै प्रहरी अधिकृतहरुलाई बोलाएका हौं तर सवै एकैचोटी विदामा र विरामी भएको नाटक गरि यहाँ आएका छैनन् ।' सापकोटाले प्रहरी अनुसन्धानको प्रकृयामा नरहेको र हत्या योजनाकारसाग मोटो रकम लिएका कारण छलफल सम्म नआएकोआरोप लगाउनु भएको छ ।

व्यापारी चुप लागेर बसेका कारण प्रहरीले हत्याको योजना सफल भएको भनेर बस्नु मुर्खता रहेको व्यापारीहरुले बताएका छन् । एक व्यापारी दम्पत्तीको हत्याको कुरा मात्र नभएर सवै व्यापारीको सुरक्षामा पनि प्रहरीको राम्रो घुस खाएर हत्यारालाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै त्यस्ता गैर जिम्मेवारी प्रहरीलाई कार्वाही गरि हत्याको स्पष्ट अनुसन्धान गर्ने नयाँ प्रहरी अधिकृतहरुको नियुक्ति हुनुपर्ने सहभागीहरुको माग रहेको छ ।

यसैबीच, सुनसरी उधोग वाणिज्य संघले एक सर्कुलर जारी गरि पूर्वाञ्चलका १६ वटै जिल्लाका उधोग वाणिज्य संघलाई आन्दोलनका लागि साथ दिन अपिल गरेका छन् ।

व्यापारीहरुको संघर्षसमितिले जारी गरेको विज्ञप्तिमा आगामी सोमबारदेखि थालिने चरणवद्ध आन्दोलनमा साथ दिदै पूर्वाञ्चलका सवै जिल्ला प्रशाशन कार्यालयमा तालाबन्दि तथा धर्नाका लागि अपिल गरिएको छ ।

हत्यारा पत्ता नलागुनजेल सम्म र सरकारले व्यावसायीका माग पुरा नगरेसम्म सो सहयोग गर्न उनीहरुले अपिल गरेका हुन् । आन्दोलन सोमबारबाट थालिने र जिल्ला प्रशाशन कार्यालयमा अनिश्चितकालिन तालाबन्दिबाट सुरु हुने संघर्षसमितिले जनाएको छ ।

व्यापारी हत्याका कारण औधोगिक करिडोरका व्यापारी तथा व्यावायी र अन्य व्यापारीहरु विभिन्न अपराधिक घटनाको मारमा परेको तर प्रहरी प्रशाशनले सुरक्षाको साटो उल्टै यातना दिने गरेको जनाउँदै जिल्लाले थालेको आन्दोलनमा साथ दिन नेपाल उधोग वाणिज्य महासंघलाई साथका लागि अपिल गरेको छ ।

(नेपाल जापान बाट)

Comments