एसएलसीको उत्तरपुस्तिका कर्मचारीद्वारा परीक्षण

एसएलसी परीक्षाको उत्तरपुस्तिका जिल्ला शिक्षा कार्यालयका कर्मचारीले परीक्षण गरेका छन् । विषय शिक्षकले गर्नुपर्नेमा परीक्षण रकम पाउने लोभमा चितवन शिक्षा कार्यालयका कर्मचारीले गरेका हुन् । जिशिकाका अधिकांश कर्मचारीले चितवनको आदिकवि भानुभक्त माविको स्टोर कोठामा बसेर कार्यालयसमयमै उत्तरपुस्तिका परीक्षण गर्ने गरेका छन् । सो माविको तेस्रो तलाको स्टोरकोठामा शिक्षा कार्यालय चितवनका प्रशासनिक कर्मचारी, स्रोतव्यक्ति, विद्यालय निरीक्षकले उत्तरपुस्तिका परीक्षण गरेका छन् । शिक्षा नियमावलीमा शिक्षा कार्यालयका कर्मचारीले एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्न नपाउने उल्लेख छ । जिल्ला शिक्षा कार्यालयबाट खटिएका परीक्षा शाखाका नायबसुब्बा ऋषि अधिकारीले विषय शिक्षकबाहेक अन्यले उत्तरपुस्तिका परीक्षण नगरेको बताए । कर्मचारीले उत्तरपुस्तिका परीक्षण गरेको जिल्ला शिक्षा अधिकारी गोपालकृष्ण पौडेलले भने स्विकारेका छन् । उनले कर्मचारीले उत्तरपुस्तिका परीक्षण गर्न पाउने दाबीसमेत गरे । पौडेलले भने, 'यो सामान्य कुरा हो, भइहाल्छ । चितवनमा मात्र होइन अन्य जिल्लामा पनि यस्तो प्रवृत्ति छ ।' शिक्षा कार्यालयमा स्नातक, स्नातकोत्तर कर्मचारी भएकाले एसएलसीको उत्तरपुस्तिका परीक्षण गर्न मिल्ने दाबी गर्दै पौडेलले उनीहरूसँग परीक्षण गर्ने प्राविधिक ज्ञान नभएको भने स्विकारे । चितवनमा विषय शिक्षकको अभाव भएकाले कर्मचारीले उत्तरपुस्तिका परीक्षण गरेको पनि उनले दाबी गरे । चितवनमा पूर्वी जिल्लाको १५ हजारभन्दा बढी उत्तरपुस्तिका परीक्षणका लागि ल्याइएको छ । प्राप्त उत्तरपुस्तिकामध्ये ७० प्रतिशत परीक्षण सम्पन्न भएको छ ।

Comments