म्याग्दीमा ढुङ्गाभित्रबाट पानी निस्कने अनौठो पोखरी

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने पवित्र तीर्थस्थल गलेश्वरधाममा ढुङ्गाबाट मूल फुटेर बनेको पोखरी भूगर्भविद्हरूका लागि समेत आश्चर्यको विषय बनेको छ ।

विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालयको छेवैमा रहेको सो पोखरी ढुङ्गा खिएर बनेको छ भने त्यहाँ ढुङ्गाभित्रबाट नै पानी निस्कने गरेको छ । खडेरीमा पनि पानी नसुक्ने सो पोखरीको लम्बाई करिब २० मिटर र गहिराई १० मिटर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

गलेश्वर मन्दिरका मूल पुजारी यामप्रसाद आचार्यका अनुसार पोखरीमा ढुङ्गाभित्रबाट नै पानी आउने गर्दछ । जस्तै ठूलो वर्षा हुँदा र खडेरी पर्दासमेत पानीको सतहमा घटबड नहुने पनि पुजारी आचार्यले जानकारी दिनुभयो ।

करिब डेढ वर्ष पहिले सो स्थानमा पुगेका भूगर्भविद्हरूको टोली पनि पोखरी देखेर आश्र्चयचकित भएको बताइएको छ । सो टोलीले पोखरीको अनुसन्धानका लागि छिट्टै आउने बताएता पनि अझसम्म कोही पनि नआएको स्थानीय बासिन्दाले बताएका छन् ।

सो पोखरी र त्यहाँ राखिएको भगवान् विष्णुको मूर्ति हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको गलेश्वर क्षेत्र विकास समितिले जनाएको छ । मुक्तिनाथ प्रवेशद्वारको रूपमा परिचित गलेश्वर क्षेत्रलाई हिन्दु धर्मावलम्बी नेपालीहरूले दोस्रो पशुपतिनाथका रूपमा पुज्ने गर्छन् ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार भगवान् शिव आ€नो मृत पत्नी सतीदेवीको शवलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा सो ठाउँमा सतीदेवीको गला पतन भएकोले यस ठाउँको नाम गलेश्वर रहन गएको हो ।

धार्मिक, जैविक, र पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको गलेश्वरक्षेत्रको व्यापक प्रचारप्रसार गरी अनुसन्धान गर्ने हो भने अझै पुरातात्विक महत्वका कुराहरू पत्ता लाग्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

Comments