सजिलै पत्ता लागेको एउटा साइवर अपराध

झण्डै एक महिना अगाडिको कुरा हो, मलाई एकै चोटी एकै जनाको नामबाट ३ वटा वेग्लावेग्लै मेल आए नचिनेको मान्छेको नामबाट । पठाउने मान्छेको इमेल ठेगानामा स्पष्टसँग नाम नै थियो - उमेश दहाल । तर त्यो वास्तविक थिएन भन्ने चाहिँ जसले पनि ठोकुवा नै गरेर भन्न सक्छ । मैले एउटा मेल खोलेर हेरें, त्यहाँ दमकका एक जना होमियोप्याथिक चिकित्सक र उनकी श्रीमतीका बारेमा जथाभावी कुराहरु लेखिएका थिए । साथै नराम्रा फोटोहरु पनि थिए । फोटोसपबाट विगारिएको दुवै जनाको आपत्तिजनक तस्वीर देखेर त्यस दुष्ट मानिसप्रति अति नै रिस उठ्यो । "कस्तो मानिस रहेछ त्यो जसले यति घृणित र मानविय संवेदनाहीन काम पनि गर्न सक्छ" भन्ने सोच्दै ती फोटोहरु डाउनलोड गरेर त्यसको Properties हेर्न थालें । तर त्यसबाट खासै केही पत्ता लागेन । त्यसपछि अर्को मेल खोलें । त्यसमा पनि त्यस्तै फोटोहरु थिए । र अन्तिममा अर्कोमा चाहिँ २ वटा फोटोका साथै वर्डको एउटा फाइल पनि थियो । त्यसबाट केही पत्ता लाग्छ कि भनेर त्यो डाउनलोड गरें । त्यसमा पनि फोटो नै राखिएको थियो र तिनै जथाभावी कुराहरु लेखिएको थियो । त्यो वर्ड फाइलको Properties हेर्दा मैले जे देखें त्यसले मलाई साच्ची नै अचम्ममा पारिदियो । त्यति नजिकको मान्छेले त्यस्तो गर्न सक्छ भनेर कल्पना गर्नै मलाई गाह्रो भयो । तर पनि प्रमाण त उसले नै दिएको थियो उसको अपराधको ।
उनिहरुमा रिसारिस या वैमनस्यता छ भन्ने कुरा त मलाई थाहा थियो तर यति हदसम्म तल झरेर यस्तो वदमासी उसले गर्छ होला भन्ने चाहिँ मैले सोचेको थिइन । सोचें उसले गरेको होइन कि ...... उसलाई फसाउनको लागि कसैले गरेको हो कि ......... । फाइलको Properties त जसले पनि परिवर्तन गर्न सक्ला, इमेल ठेगाना त उसले अर्काको नामबाट बनाएको थियो नै । तर त्यस अघिका पृष्ठभूमि केलाउँदा त्यो व्यक्ति नै यस घटनाको एकमात्र जिम्मेवार थियो ।
उक्त मेल आउनु भन्दा २-३ दिन अगाडि मैले उसलाई मेरो इमेल एड. दिएको थिएँ । सम्विधान सभाको चुनावको दिन भोट हालेर फर्किंदा एक्लै हिंड्दै आएको थिएँ । १२ वजेको घाममा लखतरान परेर आउँदा उसको इन्ष्टिच्यूट खुल्लै देखेर थकाइ पनि मर्ने, गफ पनि हुने भन्ने सोचेर उसको इन्ष्टिच्यूटतिर लागें । उ एक्लै रहेछ । उसको कम्प्यूटर खोलेर हर्दा उसँग एउटा राम्रो खालको Date Converter रहेछ । मेरोमा अलिक झन्झटिलो भएकोले "तिम्रोमा सजिलो रहेछ एकै क्लिकमा हुने, मेरो ३-४ पल्ट क्लिक गर्दा मात्र Date Converte गर्ने ठाउँमा पुगिन्छ, फेरि ढिलो पनि खुल्छ" भनेर उसलाई "यो Date Converter मलाई मेल गरिदेउ न" भनें र उसको Outlook खोलेर आफ्नो इमेल एड. हालेर फाइल Attach गरेर ठिक्क पारेर राखिदिएँ र "Internet Connect गरेको वेला Send गरिदेउ ल" भनें र म हिंडे ।

त्यसको भोलिपल्ट उसले मलाई फोन गर्यो, "मेल त गएन Add. मिलेन" भनेर । मलाई त हाँसो पनि उठ्यो उसको कुरा सुनेर किनकी मेरो इमेल एड. मैले आफैंले नै टाइप गरेको फेरि सवै कुरा मैले आफैंले रेडि गरेर सेन्ड गर्न मात्र बाँकी राखेर आएको एड. नमिल्ने त कुरै आउँदैन थियो । तै पनि मैले अर्को एड. दिएँ र भने "यसमा पठाउन त" "हुन्छ दाइ" त भन्यो उसले तर खै अहिले सम्म उसको Date Converter मसम्म आइपुगेको छैन ।

त्यसको पर्सीपल्ट चाहिँ उसले उमेश दहालको नाममा इमेल एड. बनाएर मैले दिएका मेरा दुवै एड.मा उसका करतुतहरु पठाएछ । मेरो एड. मिलेन भनेको कारण थाहा पाएर मनमनै हाँसे धेरै वेर । मेरो मात्र नभएर अरु १२-१३ वटा इमेल एड.मा पठाएको रहेछ ती मेलमा फोटोहरु।

त्यसपछि मैले उसलाई यस्तो काम किन गरिस् भनेर सोध्न मन लाग्यो । उसको फोन नं. मसँग थिएन । गेस गरें मेमोरी कम्प्यूटरको भोला भाइसँग पक्का छ, उसलाई फोन गरेर सोधें, मेरो गेस मिल्यो ।

अनि उक्त व्यक्तिलाई उसको नं. मा कल गरें । उ त्यहीँ रहेछ । कुरा भयो । सोधें "यस्तो वदमासी किन गरेको" भनेर । "के भयो दाइ, मैले के गरें" भनेर अन्जान जस्तो गर्न थाल्यो । मैले "तिमीले यस्तो यस्तो काम गरेछौ, गर्नु नहुने काम गर्यौ, मान्छेले गर्नु त होइन सोच्नु पनि नहुने काम तिमीले गरेछौ । तिमी फस्यौ अव ।" भनेपछि, "होइन दाइ मलाई कसैले पठाएको थियो मैले त्यो फरवार्ड मात्र गरेको हुँ ।" भन्यो । "ल के हो मलाई थाहा भइसक्यो । तिमी एकपल्ट यहाँ आउ के भएको छ म सवै तिमीलाई देखाउँछु" भनें । उ एक घण्टा भित्रैमा मेरोमा आइपुग्यो । अनि उसले पठाएका फोटो उसलाई देखाएँ र वर्ड फाइलको Properties मा उसको र उसको कम्प्यूटर इन्ष्टिच्यूटको नाम पनि देखाइदिएँ र भनें – "तिमी फस्यौ अव किनकी तिमीले यी मेलहरु मलाई मात्र नभएर धेरै ठाउँमा पठाएका रहेछौ । अनि CRI चीनमा पनि पठाएछौ । डाक्टरले चाह्यो भने तु. पत्ता लाग्छ । स्पष्ट तिम्रो नाम छ त्यहाँ । म चाहिँ पहिले भनिदिन्न तर कतैबाट उनिहरुले सोधिखोजी गरेर मलाई सोधे भने चाहिँ मैले भन्नै पर्ने हुन्छ । तिमीलाई थाहा नै छ नातामा डाक्टर मेरो भाइ हो । त्यसकारण तिमी के गर्र्छौ गल्ती त गर्यौ तर अव त्यसबाट कसरी उम्किन्छौ ।"
"मैले त होइन जे होला होला ।" भन्दै उ गयो ।

त्यसको ३-४ दिनपछि राति साढे नौ बजेतिर मलाई डाक्टरले फोन गर्यो । "दाइ, मलाई विन लादेनको नामबाट एउटा मेल आएको छ । त्यहाँ एउटा वेव साइट पनि दिएको छ हेर् भनेर, मार्ने धम्की दिएको छ" भनेर । उसँग कुरा गर्दा गर्दै उसको वुवा मेरो घरमा नै आइपुग्नु भयो र एउटा कागज दिएर भन्नु भयो "यो साइट खोलेर हेर्नु पर्यो के रहेछ । हाम्रो केटा (छोरा)लाई के के भनेर धम्की दिएर इमेल लेखेछ ।"

मैले हेरें र भनें – "हैन भिनाजु (मेरो फुपाजु पर्नुहुन्छ उहाँ) विन लादेनसँग हाम्रो के सम्वन्ध छ र लादेनले हामीलाई मार्छ । कुन चाहिँले तर्साउन त्यतिकै लेखेको होल" भनें । साइट हेर्नै पर्दैन भनेको मान्नु नै भएन ।

अनि कम्प्यूटर खोलेर साइट खोलेको त्यो साइट नै रहेनछ । अनि डाक्टरलाई फोन गरेर त्यो मेल मलाई फरवार्ड गर्न लगाएँ । त्यो मेलमा पठाउनेको एड. विन लादेनको नामबाट बनाएको रहेछ । पठाएको मिति मार्च २३ थियो । मेसेजमा चाहिँ इटहरीको अग्रवाल परिवारकै जस्तै हालत हुन्छ भनेर लेखेको थियो । "ल यत्तिका दिनसम्म किन मेल चेक नगरेको आज त अप्रिल १८ भइ सक्यो त" भनेको कम्प्यूटर विग्रेर चेक गर्न पाएकै थिएन रे ।

त्यो इमेल एड. याहुमा थियो । याहुमा इमेल एड. बनाएको मिति लगभग थाहा हुन्छ । मैले चेक गरें कहिले बनाएको रहेछ भनेर । जुन दिन उसले त्यो मेल पठायो त्यहि दिन बनाएको रहेछ । थाहा भइहाल्यो त्यो उसले त्यही मेल पठाउनकै लागि मात्र बनाएको रहेछ । मलाई थाहा भइ हाल्यो यो मेल पठाउने पनि त्यही फोटो पठाउने नै हो । पहिले पठाएको मा पनि त्यस्तै गरेको थियो, एड. बनाउने वित्तिकै त्यसैबाट मेल पठाएर ।

मैले भिनाजुलाई भनें – "डाक्टरले नाम, दामका साथै दुस्मन पनि कमाएछ भिनाजु । मलाई अस्ति भर्खर यस्तो खालको मेल आएको थियो ।" ती फोटो भएका मेल पनि देखाइदिएँ । मैले त्यो मान्छेलाई भनेको थिएँ तेरो पोल म आफैंले चाहिँ खोलिदिन्न । त्यसैले मैले सुरुमै चाहिँ फलानाको काम हो यो भनेर भनिन । तर भिनाजुले थाहा पाइहाले "यो फलानाको काम हो । त्यसका करङ्गले दुःख पाउने भयो भने" । कसरी भनेर सोद्धा "त्यो घरको मान्छे, त्यो बाहेक अरु कोसँग हुन्छ यी फोटो ? अनि यो फोटो विगार्न बनाउन त्यसलाई नै आउँछ भन्ने पनि मलाई थाहा छ" भने पछि मैले पनि भन्नै पर्यो – "हो मलाई पनि यस्तै लाग्छ ।" अनि मैले उसलाई यहाँ बोलाएर भनेका सवै कुराहरु उहाँलाई भनिदिएँ ।

त्यसपछि उहाँहरुले अरु प्रमाणहरु खोज्नु भएछ । वर्ल्डलिंकको अफिसमा फोन गरेर डायल अप फोन नं. पत्ता लगाउने काम आदि सवै गरेपछि प्रहरी कारवाही गर्ने क्रमसम्म पुग्यो । तर आफ्नो मान्छे भएको हुनाले उहाँहरुले धेरै ठूलो कार्वाही चाहीँ गरिदिनु भएन । अरु भएका भए त्यसै छाड्ने थिएनन् । साइवर अपराधीका रुपमा उसले सजाय पाउने थियो होला । जे होस् दमकको पहिलो साइवर अपराधीले आफ्नो अपराध अनुसार सजाय पाउन बाट जोगियो । त्यसका लागि उसले उसका काका र दाइ (डाक्टर) लाई जति धन्यवाद दिए पनि थोरै नै हुन्छ ।

Comments

  1. Thorai gyan khatarnaak huncha bhanchan, tyastai bhayo. Badmasi garna janda tara technology ko bare ma pura gyan na huda yestai huncha

    ReplyDelete

Post a Comment