साइबर कानुन कार्यान्वयनको माग

पोखरा/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन साइबर कानुन अत्यावश्यक भएकाले छिटोभन्दा छिटो साइबर कानुन कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा यहाँ आयोजित 'इ-कमर्स' कार्यशालाको शनिबार भएको समापन कार्यक्रममा उनले सेवाप्रदायक व्यवसायीहरूलाई सूचना प्रविधिको उपयोग गरी समयसापेक्ष बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तेजराज शाक्यले उद्यमी व्यावसायीमा अन्तर्निहित सिर्जनशीलतालाई सूचना प्रविधिले पूँजीमा परिणत गर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले सूचना प्रविधिको उपयोगलाई व्यापक बनाउन व्यवसायीहरूसँग आग्रह गरे । सहभागी रेजी बतासले कार्यशाला सूचना प्रविधिबारे जानकारी दिन फलदायी भएको बताएका थिए । तीन दिने सो कार्यशालामा पोखराका ५० भन्दा बढी व्यवसायीको सहभागिता थियो । कार्यशालामा ई—कमर्सको अवधारणा र महत्त्व, साना उद्योगमा सूचना प्रविधिको प्रयोग, वेभ व्यवस्थापन नेपालमा ई-कमर्सको प्रयोग, ई-कमर्समा सुरक्षित भुक्तानी प्रक्रिया, इन्टरनेटको सुरक्षा, नेपालको सूचना प्रविधि कानुन, रिपोर्ट लेखन तालिम तथा नेपालमा सूचना प्रविधि र ई-कमर्सको प्रयोगलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । यसैबीच महासंघका अध्यक्ष जोशीले गरिबी र बेरोजगारीको अन्त्यका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।

स्याङ्जा उद्योग वाणिज्य संघको ३०औँ साधारणसभा तथा जिल्ला अधिवेशनका अवसरमा उनले आर्थिक विकासका लागि स्थानीय स्रोत साधनलाई उपयोगमा ल्याउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार, केन्द्रीय सदस्य चन्द्रकृष्ण कर्माचार्य, अञ्चल प्रतिनिधि तथा केन्द्रीय सदस्य तीर्थराम श्रेष्ठलगायतले ठेक्काप्रथा तुरुन्त खारेज हुनुपर्नेमा जोड दिएका थिए ।

Comments