मोबाइलबाट माग्न थाले मगन्ते

इस्लामावाद/ पाकिस्तानका माग्नेहरूमा आधुनिक प्रविधितर्फ झुकाव बढेको छ । उनीहरू भिख माग्नका लागि मोबाइल प्रयोग गर्न थालेका छन् । प्रायजसो १० देखि एक सय रुपैयाँसम्म माग्ने गरिएको छ । तर, ईश्वरका नाममा भिख माग्नेहरूका फन्दामा पाकिस्तानी जनता पर्न थालेका छन् । 'म गरिब मान्छे हुँ । मेरी छोरीलाई अस्पतालमा भर्ना गरिएको छ । तपाईंलाई ईश्वरमा विश्वास छ भने कृपया १० रुपैयाँ सहयोग गर्नुहोस् । ईश्वरले तपाईंलाई यसको फल दिनेछन्, तपाईंलाई सबै विध्नबाधाबाट मुक्त गर्नेछन्,' माग्नेले पठाएको मोबाइल सन्देश प्रायः यस्तै हुने गर्छ । यसैगरी माग्नेले चित्रित गरेको स्वर्गको बखानलाई पनि धेरैले बेवास्ता गर्न सक्दैनन् । व्यापारी मुहम्मद उस्मान आफूले दिनहुँ माग्नेका १० वटा सन्देश पाउने गरेको दाबी गर्छन् । उनी भन्छन्, 'यस्ता सन्देशलाई बेवास्ता गर्न धेरै मुस्किल छ ।' अनाम युनुसले अपरिचित सन्देश प्रेषकलाई पैसा पठाउन थालेकी छिन् । उनी भन्छिन्, 'एसएमएस पठाउने जोसुकै होस् ईश्वरका नाममा मात्र मैले पैसा पठाउने गरेकी छु ।' तथापि माग्नेले मानिसलाई ब्ल्याकमेल गर्न नहुने उनको धारणा छ ।

Comments