बैंक लूटपाट

हतियारधारी समूहले आईतवार झापाको दमक स्थित लक्ष्मी बैंकको शाखा कार्यालयबाट उनासी लाख रुपैयाँ लुटेर लगेका छन् ।
अपरान्ह सवा १२ बजे दमक १३ स्थित शाखा कार्यालयमा सात जनाको संख्यामा पसेका लुटेराले पन्ध्र मिनेट भित्र पैसा लुटेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।
बैंकका प्रमुख मुरारी प्रसाईंले रातो टिर्सट र जिन्स लगाएर आएका मंगोल अनुहारका देखिने लुटेराले सबै कर्मचारीलाई नियन्त्रणमा लिएर ढिकुटी र काउण्टरबाट रकम लुटेको बताउनु भयो ।
उहाँका अनुसार लुटेराले बैंकका दुइजना सुरक्षा गार्ड देबी ढकाल र पर्शुराम आचार्यलाई बन्दुक र चक्कु देखाएर भान्सामा थुनिदिएका थिए । बैंकका कर्मचारीसँग भएको चारवटा मोबाईल पनि लुटेराले साथै लगेको उहाँले बताउनु भयो ।
घटना स्थालबाट करिव पाँचसय मिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरीको टोली आघा घण्टा पछि मात्र आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको जानकारी पाएको प्रहरीको टोली दमक १० स्थित बिराटलक्ष्मी बैंक तर्फ त्यसपछि नजिकै रहेको एनआइसी बैंकको शाखा कार्यालय तर्फगएको थियो । शसस्त्र प्रहरी बल पाथिभरा गणका डिएसपी गोपाल गुरुङले लुटेराको खोजी गर्न सुरक्षाकर्मी को टोली झापाका प्रमुख स्थानहरुमा परिचालन गरिएको बताउनु भयो ।
बैंकमा रहेको सिसी क्यामेरा अन्य दिन खुला रहने गरेको भएपनि आईतवार बन्द अवस्थामा पाइएको गुरुङले जानकारी दिनु भएको छ । लुटपाट हुदाँ कर्मचारीहरु नवराज बस्नेत, रमेश कटुवाल, तारा खतिवडा र जीवन लुइटेल कार्यालयमै हुनुहुन्थ्यो ।
सुरक्षा गार्ड देबी ढकालले लुटेराले बन्दुक देखाएर आफँूहरुलाई हल्ला नगर्न चेतावनी दिदैं भान्सामा थुुनिदिएको बताउनु भयो । गुरुरु आएर बन्दुक देखाउँदै कोठामा लगेर थुनिदिए-उहाँले भन्नुभयो । प्रहरीले सोधपुछका लागि सुरक्षा गार्डलाई प्रहरी कार्यालय लगेको छ । डिएसपी गुरुङले लुटेरा पैतीस देखि पच्चीस वर्षउमेरका युवा भएको भन्ने प्रारम्भीक अनुषन्धानबाट थाहा भएको बताउनु भयो ।
- कुमार लुइटेल

Comments

  1. ओह हो! cc क्यामरा चाँही लुटपाट हुने दिन नै बन्द गर्नु पर्ने? अनी पुलिसहरु चाँही अरु अरु बैंकमा चोर खोज्दै किन हिँडेको नि? सबैको मीलिभगत जस्तो छ नि?

    ReplyDelete

Post a Comment