रामहरि श्रेष्ठ हत्या प्रकरणको रहस्य

 कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भई फरार भएका भनिएका दुई छापामारमध्ये ब्रिगेड कमान्डर केशव अधिकारी (रघु) का बारेमा जनआस्थाले केही नयाँ सूचना पाएको छ। प्रहरीले रघु र अर्का बटालियन भाइस कमान्डर गंगाराम थापा (एटम)लाई 'मस्ट वान्टेड' को सूचीमा राखेर खोजी गरिरहेको छ। जनआस्थाले उनका बारेमा प्राप्त गरेको पहिलो सूचना भने अलि भिन्नै प्रकृतिको छ।
नेकपा माओवादीले रघुसमेतको पिटाइबाट रामहरिको मृत्यु भएको जनाए पनि रघु घाइते सिपाही रहेको र अपांग भएकै कारण उनलाई गत १ असोजमा तत्कालीन समाजकल्याणमन्त्री खड्गबहादुर विकले राष्ट्रिय अपांग कोषको अध्यक्षमा मनोनीत गरेका हुन्। 'उनको भित्री अंगमा प्लास्टिक लगाइएको थियो, उनी कडा शारीरिक व्यायाम गर्न एवं राम्रोगरी दौडनसमेत नसक्ने अवस्थाका व्यक्ति हुन्, उनले कसरी रामहरिलाई मरणासन्न हुनेगरी पिट्न र गाडीबाट भाग्ने आँट गर्न सक्छन्?' स्रोतले जनआस्थासित भन्यो।
माओवादीका पाँच मन्त्री असोज १ गतेकै दिन सरकारबाट बाहिरिएका थिए र त्यसरी बाहिरिनुभन्दा केही घन्टाअघि मात्रै केशव अधिकारीलाई मन्त्री विकले अपांग कोषमा नियुक्त गरेका थिए। उनीसँगै नियुक्ति पाउने आठजनामा जनयुद्धका घाइतेका तर्फबाट चित्रबहादुर घर्तीमगर (गुलाफ), सुनीता रेग्मी (योजना) र प्रवीणा गोले (नमुना) रहेका छन्। त्यसैगरी, क्रान्तिकारी अपांगका तर्फबाट तुलसी बाँस्कोटा, कृष्ण गजुरेल, कृष्ण ढकाल र सरीता अर्याललाई पनि मन्त्री विकले उसैदिन कोषमा मनोनयन गरेका हुन्। भ्याट कटाएर बैठक भत्ताबापत प्रतिव्यक्ति प्राप्त हुने चार सय २५ रूपैयाँ रघुले अन्य सदस्यबाट नलिएको कर्मचारी बताउँछन्। ब्रिगेड कमान्डर भएर पनि शिविरमा नबस्ने अधिकारी झोलामा कहिलेकाहीँ ७०–७५ लाख रूपैयाँसम्म बोकेर भृकुटीमण्डपस्थित कोषको कार्यालयमा आउँथे। स्रोतका अनुसार डिभिजन कार्यालयको सम्पूर्ण हिसाब–किताब उनैमार्फत हुने गरेको थियो। कोषका एक पदाधिकारीले जनआस्थासित भने– '७५ लाख रूपैयाँसम्म झोलामा बोकेर हिँडेको हामीले देखेको हो, त्यस्ता व्यक्तिले रामहरिसित मिलेर १७ लाख रूपैयाँ चोेरेभन्दा हामीलाई बिल्कुलै पत्यार लाग्दैन।' कोषका कर्मचारीका अनुसार अधिकारी अहिलेसम्मकै सबैभन्दा राम्रा अध्यक्ष हन्। यसअघि शाही शासनकालमा राजेश हमालका भाइ राकेश हमाल अपांग कोषको अध्यक्ष थिए भने लोकतन्त्र आएपछि एमाले नेतृ उर्मिला अर्यालले अमृत राईलाई अध्यक्ष बनाएकी थिइन्। अधिकारी कोषमा आएपछि भृकुटीमण्डपमा अपांगका तर्फबाट पेट्रोलपम्प सञ्चालन गर्ने तयारीसमेत भइरहेको थियो।
वैशाख १३ गते बेलुका रघु चितवन गए। तर, उनी शक्तिखोर शिविर गएनन्। अपांगहरूद्वारा आयोजित एक तालिम कार्यक्रमका लागि त्यहाँ पुगेका रघु आशिष गेस्ट हाउसमा बसे र त्यहीँबाट टेलिफोन गरेर तेस्रो डिभिजनमा रहेकी छापामार 'अरुणा'लाई लजमा बोलाए। अरुणा उनकी श्रीमती हुन्। छोरोसहित आएकी अरुणासित रघुले सोही लजमा दुई रात बिताए। सम्भवतः यिनै दुईवटा रात नै उनीहरूको मिलनको पछिल्ला रात बन्नपुगे। अरुणा यतिबेला छोरोसहित शिविरभित्रै शोकमग्न छिन्। रघुको मोबाइल नं. ९८४१६४४९५३ मा टेलिफोन गर्दा सधैँ स्विच अफ भन्छ। तालिममा सहभागीका अनुसार रघु र अरुणाको सम्बन्ध अत्यन्तै प्रेमपूर्ण देखिएको थियो।
वैशाख १५ गते बेलुका ५ बजे रघु आशिष गेस्ट हाउसबाट बाहिरिएका हुन्। त्यसबेला उनले साथीहरूलाई भनेका थिए– 'म अलि बिरामी भएँ, जचाउनुपर्नेछ।' तर, १९ गते तालिम समापन कार्यक्रममा आउने भनेका अधिकारी आएनन्। स्रोतअनुमान गर्छ–'उनी पैसा चोर्ने खालका मान्छे पनि होइनन्, उनले कसैलाई पिट्न पनि सक्दैनथे, उनलाई पनि माओवादीले नै मारेको हुनसक्छ।' उता शिविरमा रहेकी श्रीमतीलाई भने अत्यन्तै कडा सुरक्षाका साथ बाहिर आउनसमेत दिइएको छैन।
उता शक्तिखोरस्थित जनसेनाको तेस्रो डिभिजनमा रामहरि हत्याकाण्डपछि बबाल मच्चिएको छ। स्रोतका अनुसार मधु कमान्डर रहेको तेह्रौं बटालियनमा लगेर श्रेष्ठलाई पिटिएको थियो। रघु र एटमलाई मात्रै दोष लगाए पनि उनीमाथि धेरैले हातपात गरेका थिए। बाहिरी दबाब चर्को आएपछि कमान्डर विविधलाई निलम्बन गरेको भनिए पनि उनी अनन्तका भक्त भएका कारण राम्रो ठाउँमा सरुवा गर्ने आश्वासन दिइएको स्रोतले बतायो। उनीमाथि मुद्दा चलाउनुपर्नेमा माओवादीले बचाइरहेको छ। डिभिजनका भाइसकमान्डर सरल र प्रवक्ता अविरलमाथि भने कुनै कारबाही गरिएको कुरा बाहिर आएको छैन। रुकुमको हुकमा घर भएका ३४ वर्षीय कालीबहादुर खाम (विविध) जनयुद्धको सुरुवातदेखि नै योद्धा हुन्। पिली आक्रमणपछि चर्चामा आएका उनी कामीडाँडामा बसेको माओवादीको पहिलो शिविरका कमान्डर मानिन्छन्। उनी अनन्तको सहायक कमान्डर भएर विभिन्न मोर्चामा लडेका थिए।
स्रोतको दाबीअनुसार रघु र एटमको पनि आन्तरिक रूपमै हत्या गरिएको हुनसक्छ, साथै थप दुई छापामार पनि शिविरबाटै बेपत्ता छन्। शिविरभित्र के कति छापामारको उपस्थिति छ भन्ने कुराको जाँच गर्ने काम अनमिनसमेत गर्दैन।
जनआस्था साप्ताहिकवाट साभार ।

Comments